कात्तिक २९, २०८२। काठमाडौं दैनिक संवाददाता

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ। शनिबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जलाई पहिलो वर्गमा वर्गीकरण गरेको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्गमा पर्छन्।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यले नै मूल्य वृद्धि गर्न बाध्य बनाइएको हो। नयाँ दरअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ५४ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा वृद्धि भएर आएको निगमले जनाएको छ।
मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ तोकेको छ ।








