KATHMANDU DAINIK

नेपाली पारा तेक्वान्दो टोली मलेसियातर्फ प्रस्थान

साउन १३, २०८२।

काठमाडौं – आगामी एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा सहभागी हुन नेपाली पारा तेक्वान्दो टोली मलेसियाको सरावकतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता जुलाई २४ देखि अगस्ट १ तारिखसम्म सञ्चालन हुनेछ।

सात सदस्यीय नेपाली टोलीमा पाँच जना पारा खेलाडी छन्, जसले के–४४ श्रेणी अन्तर्गत विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। तीमध्ये पुरुषतर्फ ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता र ६३ केजीमुनि अमिर भ्लोन छन्।

महिलातर्फ ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धन प्रतिस्पर्धा गर्दैछिन्। ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले पनि भाग लिनेछन्, जसका लागि यो पहिलो अन्तर्राष्ट्रिय अनुभव हुनेछ।

हाल चीनको सांघाईमा अध्ययनरत पलेशा प्रतियोगितामा सहभागी हुन त्यहीँबाट मलेसिया पुग्नेछिन्।

टोली व्यवस्थापनमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ र प्रशिक्षकका रुपमा कविराज नेगी लामा रहेका छन्। प्रशिक्षक लामाका अनुसार, यो प्रतियोगिता वरीयता अंक सुधारको लागि महत्वपूर्ण हुने भएकाले यसले भविष्यमा ओलम्पिकमा सहभागी हुन थप सहज बनाउने अपेक्षा गरिएको छ।

नेपालले सुरुवातदेखि नै यो च्याम्पियनसिपमा निरन्तर सहभागिता जनाउँदै आएको छ। हालसम्म नेपालले यस प्रतियोगिताबाट १ रजत र ५ कांस्य पदक जितिसकेको छ। रञ्जना धामीले रजत र कांस्य, पलेशा गोबर्धन, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य पदक जितेका थिए।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य हिमालकुमार श्रेष्ठ तथा राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले बिदाइ गरेका थिए। बिदाइ कार्यक्रममा बोल्दै सदस्य–सचिव घिसिङले नेपाली पारा तेक्वान्दोले अन्तर्राष्ट्रिय स्तरमा ‘ब्रान्ड’को रुपमा पहिचान बनाइसकेको बताउँदै यो टोलीले पनि सो पहिचानलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

निर्देशक विष्टले एसियाली क्षेत्रमा प्रतिस्पर्धा कठिन भए पनि यहाँ जित्न सकिएमा ओलम्पिकमा समेत पदकको सम्भावना बलियो हुने धारणा राखे।

प्रतियोगितामा ४५ देशका करिब १५० खेलाडी सहभागी हुने जनाइएको छ। यस सन्दर्भमा नेपाली टोलीको प्रस्तुतिले राष्ट्रिय गौरव बढाउने अपेक्षा गरिएको छ।

Exit mobile version