KATHMANDU DAINIK

नेपालमा विद्युत् उत्पादन क्षमता ३५६५ मेगावाट पुग्यो मन्त्री खड्का

Bidhut pradhikaran

काठमाडौं, असार ३१- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले नेपालको कुल विद्युत् उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताएका छन्। असार ३० गते सोमबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत प्रश्नको उत्तर दिने क्रममा उनले यो तथ्य सार्वजनिक गरेका हुन्।

मन्त्री खड्काका अनुसार विभिन्न अध्ययनले नेपालको जलविद्युत् उत्पादन सम्भाव्यता करिब ८३ हजार मेगावाट रहेको देखाएको छ। तीमध्ये ६२ हजार मेगावाट ऊर्जा आर्थिक तथा प्राविधिक दृष्टिकोणले व्यावसायिक उत्पादनका लागि उपयुक्त रहेको उल्लेख गरे।

उनले भने नेपालमा जलविद्युत् उत्पादन क्षमताको कुरा गर्दा लगभग ८३ हजार मेगावाट रहेको देखिएको छ। त्यसमा ६२ हजार मेगावाट उत्पादन गर्न सकिन्छ भन्ने अध्ययन निष्कर्ष छ। अहिलेको उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको छ।

विद्युत् उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइन विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सक्रियता, तथा ऊर्जा आपूर्ति प्रणाली सन्तुलन कायम राख्न सरकारले काम गरिरहेको उनले जानकारी दिए।

वर्षा याममा बढी, हिउँदमा घट्दो उत्पादन मन्त्री खड्काका अनुसार नेपालको जलविद्युत् प्रणाली मौसमी प्रवृत्तिमा आधारित छ।

वर्षा याममा क्षमताभन्दा बढी विद्युत् उत्पादन हुने भए पनि हिउँदमा उत्पादन क्षमता एक तिहाइमा झर्ने समस्या रहेको उनले बताए। हिउँदमा माग अनुसार आपूर्ति गर्न भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको पनि उनले स्पष्ट पारे।

क्षमताको अधिकतम उपयोगको खाँचोनेपालमा जलविद्युत्को अपार सम्भावना भए तापनि हालसम्म उत्पादन भएको क्षमता देशको कुल सम्भावनाको केवल सानो अंश मात्र हो।

हाल देशमा सञ्चालनमा रहेका अधिकांश परियोजना नदी प्रवाहमा आधारित रन–अफ–रिभर प्रणालीका छन्। यसले गर्दा सिजनअनुसार उत्पादनमा ठूलो उतारचढाव आउँछ।

सरकारले अबको प्राथमिकता उत्पादन मात्र नभई भण्डारणयुक्त जलविद्युत् आयोजना तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारमा केन्द्रित गर्नुपर्ने आवश्यकतालाई जोड दिएको मन्त्री खड्काले बताए।

विदेशी लगानी र क्षेत्रीय व्यापारमा ध्यान खड्काले जलविद्युत् आयोजनामा निजी तथा विदेशी लगानीकर्ताको सहभागिता बढ्दै गएको जनाउँदै त्यो ऊर्जा व्यापारका लागि पनि सम्भावना बोकेको बताए। भारतसँग विद्युत् व्यापारमा भएका समझदारी तथा सम्झौताहरूले नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्र बनाउन सक्ने उनले विश्वास व्यक्त गरे।

उनले भने जलविद्युत् आयोजनाले मुलुकको आर्थिक विकास क्षेत्रीय ऊर्जा व्यापार तथा दिगो भविष्यको आधार निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

नेपालको जलविद्युत् उत्पादन क्षमता ३५६५ मेगावाट पुगेको यो तथ्यले देशको ऊर्जा सम्भावनालाई पुन पुष्टि गरेको छ। यद्यपि वर्षाअनुसारको निर्भरता, सीमित प्रसारण क्षमता र भण्डारणको अभावले चुनौती थपेका छन्। दीर्घकालीन समाधानका लागि नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र क्षेत्रीय सहकार्य अनिवार्य बन्न गएको छ।

Exit mobile version