KATHMANDU DAINIK

नेकपा एसको विवाद छाताछुल्ला, झाँक्री र सुदेशको ब्यक्तिगत युद्ध

 

असार १५, २०८२।  उपसना पौडेल

राजनीतिमा युद्ध, आरोप–प्रत्यारोप र व्यक्तिगत कटाक्षले पार्टीको संगठनात्मक कमजोरी र नेतृत्वप्रतिको असन्तोषलाई उजागर गर्छ।

यस पटक विवादको केन्द्रमा रहेका छन् नेतृ रामकुमारी झाँक्री र नेता सुदेश पराजुली।

दुवै पक्षको भनाइले नेकपा (एस) भित्र नेतृत्व, संगठन र नीतिगत बहसभन्दा बढी व्यक्तिगत धारणाको जटिलता देखापरेको स्पष्ट हुन्छ।

रामकुमारी झाँक्री पार्टीका आक्रामक र वक्तृत्वशाली नेतृ हुन्। उनी विगतदेखि नै खुला आलोचक रहँदै आएकी छन्। शनिबार लुम्बिनीमा आयोजित एक कार्यक्रममा उनले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा प्रश्न उठाउँदै पार्टी पुनर्गठनको आवश्यकता औंल्याइन्।

झाँक्रीले भनेकी थिइन् कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आएको छ। काँधमा मरेको सिनो हालेर हिँड्न सकिन्न।

उनको यस्तो टिप्पणी एकातिर संगठनप्रतिको चिन्तालाई देखाउँछ भने अर्कातिर नेतृत्वप्रतिको असन्तोष र वैकल्पिक सोचको संकेत पनि हो।

झाँक्रीको उक्त अभिव्यक्तिपछि पोलिटब्युरो सदस्य सुदेश पराजुलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाए।
उनले झाँक्रीलाई ‘विक्षिप्त मानसिकता’ को संज्ञा दिँदै तीखा कटाक्ष गरे।

उनले लेखेका छन्, लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट भएछ। कहिले लुकेर, कहिले भ्रममा परेर कहिले सामाजिक दुनियाँ प्रयोग गरेर कहिले नक्कली स्टण्डबाजी गरेर उदाएको मानसिकता हो यो।

उनले झाँक्रीमाथि पदका लागि सम्झौता गर्ने सत्ता गुमाउँदा रोइकराइ गर्ने जस्ता व्यक्तिगत व्यवहारको आलोचना गरेका छन्।

नेकपा (एस) भित्र यस्ता विवादहरू नयाँ होइनन्। विगतमा पनि विभिन्न नेताहरूले नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका थिए।

भविष्यमा यस्ता मतहरूलाई स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्ने कुरा पार्टी नेतृत्वको सहिष्णुता, दूरदृष्टि र संस्थागत संयोजन क्षमतामा निर्भर हुनेछ।

उनले पार्टी अध्यक्षमाथि कानुनी संकट, निर्णय प्रक्रियामा अनियमितता, संगठनभित्र समावेशी नेतृत्वको अभाव जस्ता गम्भीर कुरा उठाएकी छन्।

तर यस्तो प्रस्ताव पार्टीको राजनीतिक दृष्टिकोण र विधानसँग मिल्दो हो कि होइन भन्ने विषयमा स्पष्ट बहस आवश्यक छ।

यदि पार्टी नेतृत्व झाँक्रीको प्रस्तावलाई आन्तरिक विद्रोहका रूपमा मात्र लिन्छ भने त्यो दीर्घकालीन रूपमा विनाशकारी हुन सक्छ ।

यसैले यस्तो संवेदनशील संवाद पार्टी केन्द्रीय तहमा हुनुपर्नेमा सामाजिक सञ्जालबाट हुने व्यक्तिगत प्रहारले केवल घाउ गहिरो पार्ने सम्भावना छ ।

सुदेश पराजुलीको टिप्पणीमा राजनीतिक दृष्टिकोणभन्दा बढी व्यक्तिगत कटाक्ष प्रष्ट देखिन्छ। जबकि झाँक्रीको अभिव्यक्तिमा भलै आक्रोश होला तर त्यो आन्तरिक लोकतन्त्रको अभ्यास पनि हो ।

नेकपा (एस) अहिले द्विविधामा छ एकातिर नेतृत्वको अधिकार रक्षा गर्ने दबाब छ भने अर्कातिर आलोचना र असन्तुष्टको आवाजलाई आत्मसात गर्न आवश्यकता छ।

रामकुमारी झाँक्री र सुदेश पराजुलीबीचको यो युद्ध सामान्य विवाद मात्र होइन। यो नेकपा (एस) को भविष्य, आन्तरिक संरचना र राजनीतिक दिशा कुन बाटो लाग्छ भन्ने निर्णायक मोड हो।

यदि यसलाई संवेदनशीलतापूर्वक समाधान गरिएन भने पार्टी फेरि फुटतिर उन्मुख हुन सक्छ।

अभिव्यक्तिको स्वतन्त्रता र जिम्मेवारीबीच सन्तुलन कायम गर्दै, कम्युनिस्ट पार्टीहरु व्यक्तिगत प्रहार होइन, संस्थागत सुधारतर्फ केन्द्रित हुन जरुरी देखिन्छ ।

 

 

Exit mobile version