KATHMANDU DAINIK

नुवाकोटको ऐतिहासिक साततले दरबार भत्काउदै

 

नुवाकोट साततले दरबार, दरबार पुनर्निर्माण, नुवाकोट दरबार चीन सहयोग, तुलजा भवानी मन्दिर, चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज, भूकम्पपछिको पुनर्निर्माण, नुवाकोट ऐतिहासिक सम्पदा, नुवाकोट दरबार पुनर्निर्माण, पृथ्वीनारायण शाह, नेपाली सांस्कृतिक सम्पदा, पुरातात्विक पुनर्निर्माण, नुवाकोट समाचार
सात तल्ले दरबार

साउन १६, २०८२।

नुवाकोट – भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक नुवाकोटको साततले दरबार पुनर्निर्माणका लागि संरचना भत्काउने कार्य सुरु गरिएको छ। त्रिशूलीस्थित यो दरबारलाई चीन सरकारको सहयोगमा पुनःनिर्माण गरिँदैछ।

दरबारको संरचना संवेदनशील भएकाले पुरातत्व विभागको निर्देशनअनुसार तथा नेपाली प्रतिनिधिहरूको उपस्थितिमा मचान (scaffolding) प्रयोग गरी छाना (झिंगटी) निकालिएको र माथिल्लो तला हटाउने कार्य अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेले जानकारी दिएका छन्।

उनका अनुसार दरबारका झिंगटी, झ्याल, बार्दलीजस्ता ऐतिहासिक सामग्रीहरूको संरक्षणका लागि विशेष व्यवस्थासमेत गरिएको छ।

साततले दरवार

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा विजयी हासिल गरेपछि निर्माण गरेको यो दरबार २०७२ सालको गोरखा भूकम्पले ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि आवश्यक मूल्यांकन, पूर्वाधार तयारी र चिनियाँ सहयोगमा पुनःनिर्माण प्रक्रिया सुरु गरिएको हो।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले दरबारको तेस्रो तलासम्मको संरचना सुरक्षित देखिए पनि विस्तृत प्राविधिक अध्ययनपछि केही भाग मात्र हटाउने वा पूरै पुनर्निर्माण गर्ने भन्ने निर्णय हुने बताएका छन्।

यस परियोजनाको निर्माण कार्य चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले गर्दैछ। उक्त संस्थाले विसं २०८३ असोजभित्र साततले दरबार तथा लिच्छविकालीन तुलजा भवानी (तलेजु) मन्दिर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ। हाल तलेजु मन्दिर पूर्णरूपमा भत्काइसकिएको छ।

पुनर्निर्माणको दृश्य

यस पुनर्निर्माण परियोजनाअन्तर्गत थप गारदघर, रंगमहल, लामपाटी, शीतलपाटी, नारायण मन्दिर र विष्णु मन्दिर समेत गरी ८ ओटा संरचना पुनःनिर्माण गरिनेछ।

स्मारक हेरचाह कार्यालयका अनुसार पुराना सम्पदासँग मेल खाने तर आधुनिक भूकम्पप्रतिरोधी प्रविधिमा आधारित पुनर्निर्माण गरिनेछ। यस कार्यले नुवाकोट दरबार क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्व झनै बढाउने अपेक्षा गरिएको छ।

Exit mobile version