सोल,दक्षिण कोरियामा। साउन ९ – सन् २०२५ को जनवरी देखि मे महिनासम्मको अवधिमा बच्चा जन्माउने दरमा ६.९ प्रतिशत वृद्धि भएको छ। यो सन् १९८१ यता कै सबैभन्दा ठूलो वृद्धि हो। उक्त अवधिमा कुल १ लाख ६ हजार ४८ जना नवजात शिशुको जन्म भएकोबताइएको छ।
यो वृद्धि विगत एक दशकपछिको पहिलो पटक हो जुन देशमा बच्चा जन्म संख्या वार्षिक रूपमा बढेको हो। सन् २०२४ मा पनि ८,३०० बच्चा बढी जन्मिएका थिए जुन अघिल्लो वर्षको तुलनामा ३.६% वृद्धि हो।
विशेषगरी सन् २०२५ को अप्रिलमा उल्लेखनीय वृद्धिको दर ८.७% पुग्यो। त्यति बेला एक महिनामै २०,७१७ जना बच्चाको जन्म भएको थियो।
दक्षिण कोरियामा विवाह र बच्चा जन्मबीच गहिरो सम्बन्ध देखिन्छ। जनसंख्या तथ्याङ्क विभागकी काङ ह्युन–यङका अनुसार ३० वर्षको हाराहारीका महिलाहरूको संख्या बढेपछि विवाह पनि बढेको छ जसले गर्दा जन्मदरमा सुधार आएको हो।
सन् २०२४ मा २ लाख २० हजार भन्दा बढी जोडीले विवाह गरेका थिए जुन अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले बढी हो।
दक्षिण कोरियामा जन्मदर अझै गम्भीर समस्याको विषय बनेको छ। मे महिनाको प्रजनन दर (एक महिलाले जीवनभर जन्माउने बच्चाको औसत संख्या) ०.७५ मात्र रहेको छ। जनसंख्या स्थिर राख्न कम्तीमा २.१ को दर आवश्यक पर्छ।
यदि यही दरमा बच्चा जन्म हुने क्रम चलिरह्यो भने सन् २१०० सम्ममा कोरियाली जनसंख्या अहिलेको ५१ मिलियनबाट घटेर २६.८ मिलियन मा सीमित हुनसक्ने चेतावनी वासिङ्टन विश्वविद्यालयको अध्ययनले दिएको छ।
सरकारले महिलालाई बच्चा जन्माउन प्रेरित गर्न कैयौँ सुविधा उपलब्ध गराउँदै आएको छ, नगद प्रोत्साहन, निःशुल्क बेबीसिटर सेवा, बाँझोपन उपचारमा सहयोग लगायत।
तर विश्लेषकहरू भन्छन्, बालबालिका पालन–पोषणको उच्च खर्च, घरको महँगो मूल्य, प्रतिस्पर्धात्मक समाज, महिलामाथिको दोहोरो बोझ (घरधन्दा + जागिर) जस्ता कारणले धेरै युवाहरू बच्चा जन्माउन चाहँदैनन्।
छिमेकी जापानमा पनि यही समस्या छ जहाँ बृद्ध जनसंख्या उच्च छ र आप्रवासन नीति कडा भएको कारण कामदारको अभाव झनै बढिरहेको छ।