KATHMANDU DAINIK

झाँक्रीको अर्ली महाधिवेशन प्रस्तावले (नेकपा एस ) पार्टीमा भुइचालो

असार १५, २०८२ । काठमाडौं दैनिक, संवाददाता

नेकपा (एकीकृत समाजवादी) भित्रको नेतृत्वप्रति असन्तुष्टि फेरि सार्वजनिक भएको छ। पार्टीकी स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालमाथि उठेका कानुनी र संवैधानिक प्रश्नलाई औंल्याउँदै ‘अर्ली महाधिवेशन’को प्रस्ताव अघि सारेकी छन्।

शनिबार तिलोत्तमामा आयोजित पार्टी निकट युवा संगठनको भेलामा सम्बोधन गर्दै झाँक्रीले पार्टी सुधार र असन्तुष्टि सम्बोधनको एक मात्र उपाय प्रारम्भिक महाधिवेशन (अर्ली महाधिवेशन) भएको प्रस्ट पारिन्। उनका अनुसार नेतृत्वमा एउटै अनुहार लामो समयसम्म रहँदा ‘मास फ्रस्टेसन उत्पन्न भएको छ। यो अवस्था सच्याउन नेतृत्वको करेक्सन अनिवार्य भइसकेको छ।

पतञ्जलिको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालमाथि कानुनी कारबाहीको सम्भावना तीव्र बनेसँगै पार्टीभित्र नेतृत्व हस्तान्तरणबारे बहस सुरु भएको छ। झाँक्रीले यही सन्दर्भमा महाधिवेशनको बाटो सहज र पारदर्शी हुने बताइन्।

समस्या समाधानको बाटो नेतृत्व परिवर्तन होइन, संस्थागत निर्णय प्रक्रिया हो,” उनले भनिन्।

उनले गत महाधिवेशनमा मनोनीतहरूबाट नेतृत्व चयन गरिएको प्रक्रिया आलोचना गर्दै अब त्यो शैली दोहोरिनु नहुने बताइन्। संस्थागत सुधारबिना पार्टी चल्दैन। असन्तुष्टिहरूलाई थुनेर हैन, सुनेर अघि बढ्नुपर्ने समय आएको छ उनको भनाइ थियो ।

नेता झाँक्रीले नेतृत्वमा चुलिंदो असन्तुष्टि र दिशाहीनता कायमै रहन गए, आगामी दिनमा राजनीतिमा अराजकताले ठाउँ लिन सक्ने चेतावनी दिइन्।

पछिल्लो परिवर्तनले केही भएन भन्न सजिलो छ तर त्यसको विकल्प दिन सक्ने पार्टी र नेता आजको आवश्यकता हो उनले जोड दिइन्।

झाँक्रीको अभिव्यक्तिपछि एकीकृत समाजवादीभित्र नेतृत्व, वैधानिकता र निर्णय प्रक्रियालाई लिएर पुनः बहस चर्किने संकेत देखिएको छ।

विशेषतः पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा चलिरहँदा नेतृत्वको नैतिकता, वैधानिकता र कार्यदक्षतामाथि प्रश्न उठिरहेका बेला झाँक्रीको अर्ली महाधिवेशनको माग गम्भीर सन्देशका रूपमा हेरिएको छ।

 

झाँक्रीले भनेकी छिन् पार्टीको अस्तित्व बचाउन अब करेक्सन चाहिन्छ। त्यो करेक्सन नेतृत्व परिवर्तनमार्फत नभई संस्थागत प्रक्रियाबाट हुनुपर्छ। महाधिवेशन नै त्यो उपाय हो, जसले असन्तुष्टि सम्बोधन गर्दै नेतृत्वमा वैधता दिलाउँछ।

उनको भनाइमा एक खालको नारा पनि छ पनि छ
अब काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन।

झाँक्रीको सार्वजनिक प्रस्तावसँगै अब पार्टी नेतृत्वले कुन बाटो रोज्छ महाधिवेशनको औपचारिक प्रक्रिया अघि सार्छ कि पुनः यथास्थितिमा फर्किन्छ यो नै मुख्य प्रश्न बन्न पुगेको छ।

एकीकृत समाजवादीमा झाँक्रीको यो हस्तक्षेपले आन्तरिक शक्ति सन्तुलन र नेतृत्व बहसलाई निर्णायक मोडमा पुर्‍याएको देखिन्छ। आगामी दिनमा नेतृत्वले कसरी जवाफ दिन्छ भन्ने कुराले मात्र होइन, समग्र वाम राजनीति र गठबन्धनको गतिशीलतामा समेत यसको प्रभाव देखिने निश्चित छ।

Exit mobile version