एजेन्सी,असार ३२- भारतको छत्तीसगढकी स्मारिका चन्द्रकारले पुणेमा राम्रो तलब पाइरहेको जागिर छोडेर खेती रोजेकी छन्। उनका लागि यो केवल घर फर्किने निर्णय मात्र थिएन, यो आफ्नै परिवारको खेतलाई आधुनिक, लाभदायक र प्राविधिक बनाउने यात्राको सुरुवात थियो।
स्मारिका एक किसान परिवारमा हुर्किएकी थिइन्। उनले कम्प्युटर इन्जिनियरिङ पढेपछि MBA गरिन् र पाँच वर्षसम्म एक कम्पनीमा व्यवसाय विकास प्रमुखको रूपमा काम गरिन्।
तर समयसँगै उनलाई खेतको माटोले तान्न थाल्यो। बिदा हुँदा खेतमा पुग्थिन्, बुबा र दाजुसँग कृषि कर्ममा सामेल हुन्थिन्। अनि एक दिन उनले सोचिन “खेती नै मेरो भविष्य” हो।
सुरुमा उनीहरू धान खेती गर्थे, तर स्मारिकाले बुझिन् कि तरकारी खेती धेरै लाभदायक हुन सक्छ। उनले आफ्नै खेतमा परीक्षण थालिन् र टमाटरबाट सुरूवात गरिन्। बिस्तारै २० एकड जमिनमा तरकारी खेती गर्न थालिन्।
खेती सुरु गर्नु अघि स्मारिकाले माटो सुधार गरिन्, गाईको गोबर, कम्पोस्ट राखिन्, मल्चिङ गरिन्, ड्रिप सिँचाइ प्रणाली जडान गरिन्। पानी, मल र सिँचाइ नियन्त्रणमा राखेर उत्पादन क्षमता बढाइन्।
आजको दिनमा स्मारिकाले १३ एकडमा टमाटर, बाँकी जमिनमा लौका, काक्रो, भण्टा आदि खेती गर्छिन्। स्थानीय बजारदेखि दिल्ली, कोलकाता, बैंगलोरसम्म बिक्रि गर्छिन् यसबाट वर्षमा १.५ करोड रुपैयाँ आम्दानी गरिरहेकी छन्।
स्मारिकाको फार्ममा अहिले १२५ जना कामदार छन्। उनी आफ्ना बुबा र दाजुसँग मिलेर खेती गर्छिन्। भविष्यमा अझ बढी जमिनमा खेती विस्तार गर्ने योजना छ, साथै प्रविधिको उपयोग गरेर उत्पादन क्षमता झनै बढाउने लक्ष्य पनि।
स्मारिकाको कथाले खेतीलाई व्यावसायिक बनाउँदा र नयाँ तरिका अपनाउँदा यो अत्यन्त लाभदायक हुन सक्छ।