साउन १७, २०८२।
कोहलपुर – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप–कप्तान ममता थापा ग्लोबल युनि नेटवर्कको ब्राण्ड एम्बासडर नियुक्त भएकी छिन्।
कोहलपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत थापालाई आधिकारिक रूपमा ब्राण्ड एम्बासडर घोषण गरिएको हो। सो अवसरमा ग्लोबल युनि नेटवर्कका निर्देशक नवीन बुढाक्षेत्री र ममता थापाबीच एक वर्षका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको थियो।
ग्लोबल युनि नेटवर्कले शिक्षा र खेलकुदलाई जोड्ने अभियानको क्रममा ममतालाई आफ्नो अभियानमा प्रतिनिधित्व गर्न चयन गरेको जानकारी दिएको छ।
संस्थाका निर्देशक बुढाक्षेत्रीले भने, “हामीले थापा जस्तो प्रेरणादायी व्यक्तित्वलाई ब्राण्ड एम्बासडर बनाएर खेलकुद र शिक्षाको सम्मिश्रणमार्फत युवा पुस्तालाई अझ सकारात्मक बाटोमा अगाडि बढाउने आशा लिएका छौं।
उनका अनुसार ग्लोबल युनि नेटवर्कले काठमाडौंमा केन्द्रीय कार्यालय र कोहलपुरमा शाखा स्थापना गरी अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान र बेलायतलगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई मार्गदर्शन प्रदान गर्दै आएको छ।
थापाले खुशी व्यक्त गर्दै भनिन्,“म ग्लोबल युनि नेटवर्कसँग जोडिन पाउँदा गर्व महसुस गरिरहेकी छु। शिक्षा र खेलकुद परस्पर पूरक छन् र म आफ्ना अनुभवमार्फत संस्थाको अभियानलाई अघि बढाउन तत्पर छु।
उनले थप भनिन्, “युवाहरूमाझ शिक्षा र करियर निर्माणको सही जानकारी पुर्याउन सक्नु पनि देशका लागि योगदान दिनुजत्तिकै हो। म यो भूमिकालाई जिम्मेवारीका साथ निभाउने छु।