KATHMANDU DAINIK

कोपिला उप्रेती मधेश युनाइटेडको प्रशिक्षकमा नियुक्त

Madesh united

काठमाडौं, साउन १– नेपाली महिला भलिबलकी अनुभवी खेलाडी कोपिला उप्रेतीलाई एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले प्रशिक्षकको रूपमा नियुक्त गरेको छ।

बुधवार मधेश युनाइटेडले उप्रेतीलाई टोलीको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको सार्वजनिक गरेको हो।
एक दशकभन्दा बढी राष्ट्रिय महिला टोलीमा खेलिसकेकी उप्रेती नेपाली भलिबलको अनुभवी नाममध्ये पर्छिन्।

कोपिला उप्रेतीको भलिबल यात्रा :

उप्रेती दशौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै कास्य पदक विजेता टोलीको सदस्य थिइन्। एफआइभीबी लेभल १ र २ को कोचिङ लाइसेन्स प्राप्त गरेकी उनले नेपाल पुलिस क्लबलाई पनि प्रशिक्षण दिइसकेकी छिन्।

अनुभव, नेतृत्व क्षमता र खेलप्रति लगाव भएका उप्रेतीले प्रशिक्षकको भूमिकामा मधेश युनाइटेडलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

नियुक्तिपछि उनले भनिन्, मधेश युनाइटेडको प्रशिक्षक हुन पाउँदा म अत्यन्तै उत्साहित छु। उत्कृष्ट समर्पण र रणनीति सहित लिगमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्नेछौं भन्ने विश्वास लिएको छु।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने दोस्रो संस्करणको इडब्लुभिएल प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म आयोजना हुनेछ। गत वर्षको सफलतापछि यस वर्ष प्रतियोगितामा थप प्रतिस्पर्धात्मकता र आकर्षण हुने अपेक्षा गरिएको छ।

टिम व्यवस्थापनले उप्रेतीको अनुभवी पृष्ठभूमि र खेलमा रहेको लगावका कारण लिगमा टोलीको प्रदर्शन उत्कृष्ट हुने विश्वास लिएको छ। प्रशिक्षकको नेतृत्वमा मधेश युनाइटेडले प्रतियोगितामा नयाँ रणनीति, सशक्त समन्वय र उत्साही खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

Exit mobile version