कास्की, साउन ५ – कास्की जिल्ला कारागारभित्र चौकीदार नियुक्तिको विषयमा उत्पन्न विवादले झण्डै विद्रोहको रूप लिएको छ। आइतबार कारागार प्रशासनले नयाँ चौकीदारका रूपमा अजय गुरुङलाई नियुक्त गरेपछि कैदीबन्दीले नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्।
सूचना अधिकारी महेन्द्र कुँवरका अनुसार क ब्लकका चौकीदार परिवर्तन भएपछि तत्कालै कैदीबन्दीहरू दुई गुटमा विभाजित भए। नयाँ चौकीदार अजय गुरुङको नियुक्तिको विरोधमा कैदीबन्दीहरूको ठूलो समूहले नाराबाजी गर्दै टायर बालेर आक्रोश पोखेका थिए। उनीहरूले पहिलेका चौकीदार प्रकाश गुरुङलाई पुनः नियुक्त गर्न माग गर्दै दबाब दिएका छन्।
प्रकाश गुरुङ दुई कार्यकालअघि चौकीदारका रूपमा कार्यरत थिए र हाल नाइकेको भूमिकामा छन्। उनी कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका छन् भने नव-नियुक्त अजय गुरुङ पनि सोही मुद्दामा कैदमा छन्। कारागार विभागमा चौकीदारका लागि तीन जनाको नाम सिफारिस भएकोमा प्रकाश गुरुङको नाम समेत थियो। तर विभागले अजयलाई नियुक्त गरेपछि असन्तुष्टि चुलिएको हो।
आन्दोलनमा सहभागी कैदीबन्दीहरूका अनुसार चौकीदार नियुक्तिमा राजनीतिक प्रभाव र आर्थिक लेनदेनको संलग्नता देखिएको छ। उनीहरू भन्छन्, हामीलाई बुझ्ने, सहज वातावरण बनाउने व्यक्ति प्रकाश हुन्। तर राजनीतिक गुट र दलनिकट बिचौलियाको चलखेलमा हामीले नचाहेको व्यक्ति नियुक्त गरियो।
कारागारका सूचना अधिकारी कुँवरका अनुसार आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको छ। टायर बालेर विरोध जनाइएको भए पनि ठूलो क्षति भएको छैन। कैदीहरूलाई सम्झाउने प्रयास जारी छ उनले भने।
हाल क ब्लकमा करिब ४ सयभन्दा बढी कैदीबन्दी छन्। प्रकाश समर्थकहरूको संख्या धेरै देखिएको छ। अजयको पक्षमा भने थोरै कैदीहरू रहेको स्रोत बताउँछ। केही नाइकेहरूले समेत नियुक्तिको विरोध गर्दै आफ्नो जिम्मेवारी त्यागेको जनाइएको छ।
यस्तो विवादपहिलोपटक देखिएको सूचना अधिकारी कुँवर बताउँछन्। “म आउँदादेखि अहिलेसम्म यस्तो घटना पहिलोपटक हो,उनले भने हामीले नियुक्तिको निर्णय बदल्ने सम्भावना छैन तर समस्या समाधान गर्न संवादमा छौं।
चौकीदार पदको संवेदनशीलता तथा कारागारभित्रको शक्ति सन्तुलनले यो विषयलाई गम्भीर बनाएको देखिन्छ। नियुक्तिमा पारदर्शिता र निष्पक्षता नहुँदा कारागारजस्तो संवेदनशील स्थानमा समेत अव्यवस्था देखिन थालेको संकेत यो घटनाले दिएको छ।