KATHMANDU DAINIK

काठमाडौं महानगरको आम्दानी १० अर्ब नाघ्यो, खर्च ५२ प्रतिशतमा सीमित

काठमाडौं, असार ३०- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भए पनि खर्च भने ५२.१३ प्रतिशतमै सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ।

महानगरले चालु वर्षका लागि २४ अर्ब ९० करोड ६३ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो। तर असार २५ गतेसम्म जम्मा १३ अर्ब ३ करोड रुपैयाँ खर्च गरिएको छ। यस खर्चमध्ये ६ अर्ब ७३ करोड पुँजीगततर्फ र ६ अर्ब ६२ करोड चालुतर्फ खर्च गरिएको हो।

पुँजीगत खर्च अझै कमजोर:

महानगरले चालु आवमा पुँजीगततर्फ १५ अर्ब रुपैयाँभन्दा बढी र चालु खर्चतर्फ ९ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी विनियोजन गरेको थियो। तर वास्तविक खर्च पुँजीगततर्फ ४४.७२ प्रतिशत र चालु खर्चतर्फ ६३.४२ प्रतिशत मात्र रहेको देखिन्छ।

यसले आवश्यक पूर्वाधार निर्माणमा अपेक्षित प्रगति नदेखिएको संकेत गर्छ। विशेषगरी राजधानीका सडक, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, स्मार्ट सिटी परियोजना लगायतका योजनाहरूमा गतिलो कार्यान्वयन नहुनु यसको मुख्य कारण हुनसक्छ।

महानगरले भने आम्दानीतर्फ सन्तोषजनक प्रगति गरेको देखिन्छ। असार २७ गतेसम्म १० अर्ब ३२ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरिएको छ। यसमध्ये सम्पत्ति कर, व्यवसाय कर, दस्तुर, सेवा शुल्क, पार्किङ, सम्पत्ति विक्रीजस्ता स्रोत प्रमुख आम्दानी हुन्।

तर आम्दानी अनुसार खर्च हुन नसक्नु, पुँजीगत खर्च गर्ने गति कमजोर हुनु र योजना कार्यान्वयनमा ढिलाइ हुनु शासन व्यवस्थामा सुधार आवश्यक भएको संकेत हो।

नीति तथा कार्यक्रम र आगामी लक्ष्य:

काठमाडौं महानगरले केही दिनअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ‘सेफ फुड’ अभियान, संरक्षण गृह, सडक सुधार, वातावरणीय सुधार लगायतका महत्वाकांक्षी योजना घोषणा गरिसकेको छ। तर बजेट खर्चको यो अवस्था हेर्दा घोषित योजनाहरू समयमै कार्यान्वयनमा आउन सक्नेमा आशंका उत्पन्न भएको छ।

काठमाडौं महानगरको राजस्व संकलन राम्रो भए पनि खर्चमा कमजोरी देखिनु भनेको प्रशासनिक संयोजन, समयमै योजना कार्यान्वयन, ठेक्का प्रणाली सुधार र जनउत्तरदायीत्वमा अझै ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। आगामी आर्थिक वर्षका लागि महानगरले समयअनुकूल र नतिजामूलक बजेट खर्चमा जोड दिन जरुरी छ।

Exit mobile version