काठमाडौं – काठमाडौंमा सुरु भएको नाडा अटो शो–२०८२ मा पहिलो पटक ‘उड्ने ट्याक्सी’ प्रदर्शनीमा राखिएको छ। चिनियाँ कम्पनी चांगान–इहाङले उत्पादन गरेको ‘दीपल फ्लाइङ ट्याक्सी’ ले मेलामा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीसहित युवाहरूको ध्यान खिचेको हो।
यसलाई नेपालका लागि नयाँ युगको मोबिलिटीको संकेतका रूपमा लिइएको छ। दुर्गम भूभागमा यातायात सजिलो बनाउन, पर्यटकीय अवलोकन तथा आपतकालीन सेवामा यसको उपयोग हुने अपेक्षा गरिएको छ।
यो दुई सिटको पूर्ण स्वचालित हवाई कार हो जसले अधिकतम ६०० किलो भार बोक्न सक्छ र करिब २५ मिनेटसम्म उड्न सक्छ। हाल प्रदर्शनका लागि मात्र ल्याइएको यो ट्याक्सी नेपालमा बिक्री खुला भएको छैन।
यसको मूल्य करिब ८ करोड रुपैयाँ पर्ने अनुमान छ। नेपालमा प्रयोग गर्नुअघि चार्जिङ स्टेसन, एयर करिडोर, ट्राफिक व्यवस्थापन प्रणाली र कानुनी पूर्वाधार आवश्यक पर्ने विशेषज्ञहरूको भनाइ छ।
‘उड्ने ट्याक्सी’ ले नेपाली युवामा उत्साह जगाएको छ र भविष्यमा नेपालमा वैकल्पिक यातायातका रूपमा प्रयोग हुने सम्भावना देखाइएको छ।
काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्सले ऐतिहासिक प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको कीर्तिमानी स्कोर बनाएको थियो।
यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो। विगत वर्ष लुम्बिनी लायन्सविरुद्ध १ सय ९३ रन बनाएको कीर्तिमानलाई विराटनगरले यसपटक सहजै उछिनेको छ।
पहिलो विकेटका लागि जर्ज मुन्सी १० रनमै आउट भएपछि लोकेश बम र मार्टिन गप्टिलले पोखराका बलरहरूलाई खुला मैदानमा आक्रमण गरे। दुवैले दोस्रो विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट साझेदारी बनाए, जुन एनपीएल इतिहासकै दोस्रो उच्च साझेदारी हो।
२ सय २१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पोखराका ओपनर दिनेश खरेल ७ रनमै आउट भए। तर कप्तान कुशल भुर्तेल उत्कृष्ट फर्ममा रहे—३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रन बनाए ।
भुर्तेलसँग एडम रोसिङटन ले ३९ रनको योगदान दिंदै ७६ रनको साझेदारी गरे। तर सन्दीप लामिछानेले एकै ओभरमा जिम्मी निसम र तृतराज दासलाई आउट गरेपछि पोखराको आशा निराशामा बद्लिएको हो ।
लगातार आउट हुँदा टोली १८.५ ओभरमै १६७ रनमा अलआउट भयो। अन्तिमतिर ड्यान डाउथवेटले २० बलमा २९ रन बनाए पनि त्यो टोलीलाई जोगाउन पर्याप्त भएन।
कीर्तिमानी २२० रनको विशाल स्कोर, आक्रामक ब्याटिङ प्रदर्शन र उत्कृष्ट बलिङको संयोजनले विराटनगर किंग्सलाई एनपीएलमा शानदार जित दिलायो। यस जितसँगै विराटनगरले प्रतियोगितामा बलियो दाबी पेश गरेको छ।