KATHMANDU DAINIK

कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्लको निरन्तरता

Karnali yaks, Gyanendra malla, npl nepal cricket

काठमाडौं, असार ३०- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणका लागि कर्णाली याक्सले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई पुनः प्रशिक्षक तथा क्रिकेट निर्देशकको जिम्मेवारी दिएको छ। मल्लले पहिलो संस्करणमा टोलीलाई प्लेअफसम्म पुर्‍याउने महत्वपूर्ण योगदान दिएका थिए।

कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का निर्देशक गृहेन्द्र घिमिरेले मल्लको भूमिका सम्झँदै भने पहिलो संस्करणमा पाएको सफलताको मूल आधार मल्लको कुशल नेतृत्व र प्रशिक्षण शैली नै थियो। त्यसैले सहकार्यलाई निरन्तरता दिन पाउँदा हामी उत्साहित छौं। सम्झौताको अवधि एक वर्षको हुनेछ।

पछिल्लो संस्करणमा कर्णाली याक्सले मल्लको नेतृत्वमा दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। टोलीले शीर्ष चारमा स्थान बनाउँदै प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गरेको थियो।

रिटेन खेलाडी र तयारी:

एनपिएल दोस्रो संस्करणका लागि कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित ७ खेलाडीलाई रिटेन गरिसकेको छ। अन्य रिटेन खेलाडीहरूमा गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरी छन्। अघिल्लो सिजन भारतीय स्टार ओपनर शिखर धवनलाई अनुबन्ध गरेको याक्सले यो सिजन पनि चर्चित अन्तर्राष्ट्रिय खेलाडीलाई ल्याउने तयारी गरिरहेको छ।

जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्दै मल्लले भने कर्णाली याक्सले पुन मलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा म आभारी छु। पछिल्लो संस्करणमा हाम्रो प्रदर्शन सराहनीय रह्यो, यो पटक उपाधिको लक्ष्यसहित मैदान उत्रिनेछौं। उनले नयाँ खेलाडीहरूसँगको सहकार्यलाई लिएर पनि उत्साह व्यक्त गरे।

ज्ञानेन्द्र मल्लको निरन्तरताले कर्णाली याक्सलाई स्थिरता र अनुभव प्रदान गर्ने विश्वास लिइएको छ। मल्लको रणनीतिक सोच, मैदानमा अनुभव र नेतृत्व क्षमताले टोलीलाई आगामी संस्करणमा पनि बलियो दाबेदार बनाउने अपेक्षा गरिएको छ।

Exit mobile version