कर्णालीको भान्सामा भारतकै स्वाद : स्थानीय उत्पादन घट्दै, आत्मनिर्भरता संकटमा
असार १८, २०८२ । काठमाडौं दैनिक संवाददाता
काठमाडौं – कर्णाली प्रदेश जसलाई कहिले काँही नेपालकै आत्मनिर्भर कृषि सम्भावना बोकेको भूगोल भनेर व्याख्या गरिन्छ तर अहिले त्यहाँका जनताले त्यस विपरीतको यथार्थ भोगिरहेको छ।
पहाडी भूभागमा फैलिएको कर्णाली प्रदेशको अधिकांश जिल्ला आज भारतबाट आयातित तरकारी र फलफूलको भरमा चलिरहेको छ। मुगु, हुम्ला, जुम्ला, डोल्पाजस्ता जिल्ला स्थानीय उत्पादनमा आत्मनिर्भर हुन सक्ने सम्भावना हुँदाहुँदै पनि विगत केही वर्षदेखि भारतीय बजारमा निर्भर भइरहेका छन्।
कृषकहरू मौसमसँग जुधिरहेका छन् । कृषि पूर्वाधार कमजोर भएकोले भण्डारण र यातायातका समस्या छन् अनि बजार प्रतिस्पर्धामा भारतबाट सस्तोमा आउने तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादनमै विमुख हुँदै गएका छन्।
फलस्वरूप, कर्णालीको भान्सा महाराष्ट्रको आलु, कानपुरको साग, लखनउको टमाटरले भरिएको छ।
जुम्लाकी दिलसरा बुढाले वर्षायाममा आफ्नो ७ रोपनी बारीबाट साग, टमाटर, आलु र बन्दा उत्पादन गर्छिन्।
तर हिउँद लागेपछि सिँचाइको सुविधा नहुँदा उनका खेत खाली हुन्छन्। रुकुम पश्चिमकी पम्फा बुढाको कथा पनि उस्तै छ। गर्मीमा तरकारी फलाउने र जाडोमा भारतको प्याज, लसुन, बन्दा किन्न बाध्य।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कर्णालीले १७ करोडको कृषिजन्य वस्तु निर्यात गर्दा ९३ करोडको तरकारी मात्र आयात गरेको छ।
नेपालगन्जस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी बल राना मगरका अनुसार २० करोड रुपैयाँ बराबरको प्याज र ८० मेट्रिक टन ताजा तरकारी भारतबाट नेपाल आएका छन् र तीमध्ये झण्डै ४० प्रतिशत कर्णालीतिर जाने गरेको छ ।
भारतीय व्यापारीहरू लखनउ, बहराइच, नानपारा जस्ता सहरको १०–२० किलोमिटर टाढाका गाउँबाट तरकारी बटुल्छन् र नेपालगन्ज नाका हुँदै कर्णालीतिर पठाउँछन्। त्यसपछि नेपालगन्जबाट लोड भई, जहाज र गाडीमार्फत मुगु, डोल्पा, हुम्लाजस्ता जिल्लामा पुग्छ।
पहिला यस क्षेत्रमा रेलबाट पनि तरकारी आउने गरेको थियो तरहाल रेल सेवा बन्द छ। नेपालतर्फ लाइन विस्तारका कारण सेवा रोकिन पुगेको हो।
मुगु सदरमुकाम गमगढीका अगुवा रणसिंह शाही भन्छन् वर्षामा केही मात्रामा टमाटर, सागपात, काउली उत्पादन हुन्छ। तर त्यही तरकारी ३–४ महिना मात्र टिक्छ। स्थानीय उत्पादन किलोको २०० रुपैयाँ पर्छ, भारतबाट आएको १०० रुपैयाँमै पाइन्छ। प्रतिस्पर्धा गर्न नसकेर किसानले तरकारी खेती छाड्दै गएका उनले बताए ।
हुम्लामा पहिला जहाजमार्फत तरकारी जान्थ्यो अहिले सडक सुविधा विस्तारसँगै सिमकोटसम्म गाडीमार्फत पुग्न थालेको छ। तर फलफूलको हकमा अझै पनि जहाजकै भर पर्नुपर्ने अवस्था छ।
हुम्लाका कृषि शाखा संयोजक हेमन्त पुरीका अनुसार सुर्खेत बाट ३३४ किलोमिटर दूरी पार गरेर गाडीमार्फत तरकारी पुग्छ। यसअघि हवाई भाडा प्रतिकिलो ११० रुपैयाँ थियो अहिले सडकमार्गमा झरेर ३०–४० रुपैयाँ भएको छ।
हुम्लामा असारदेखि असोजसम्म मात्र तरकारी उत्पादन हुन्छ। दैनिक ३–४ क्विन्टल तरकारी नेपालगन्ज र सुर्खेतबाट पुग्छ।
हुम्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नाम्ग्याल तामाङका अनुसार मानसरोवर कैलाश यात्राको सिजनमा भारतीय तरकारी तिब्बतसम्म पनि जान्थ्यो अहिले नाका बन्द भएकाले त्यो रोकिएको छ।
स्थानीय उत्पादनको मूल्य १५० देखि २०० रुपैयाँ पर्छ भने भारतको तरकारी १०० देखि १५० रुपैयाँमै पाइन्छ उनी भन्छन् त्यसैले किसानले खेती गर्न छाडेका छन्।
नेपालकै पहिलो प्रांगारिक जिल्ला घोषित जुम्लामा समेत अहिले भारतीय तरकारी पुग्न थालेको छ।
जुम्लामा वर्षमा ५२५ हेक्टर जमिनमा तरकारी खेती हुने जिल्ला कृषि कार्यालयका प्रमुख बालकराम देवकोटा बताउँछन्। २५ सय मेट्रिक टन तरकारी उत्पादन हुने भए पनि माग पुरा गर्न बाहिरबाट ल्याउनुपर्छ।
जुम्लाकी व्यापारी राजकन्या न्यौपानेका अनुसार, बेमौसमी समयमा भारतको रुपैडियाबाट आलु आउँछ। खलंगाबाट ५० किलोमिटर परका गाउँसम्म भारतीय तरकारी पुग्छ।
पछिल्ला तथ्यांकले चालु आर्थिक वर्षको ९ महिनामा भारत बाट नेपालमा आयात भएको बस्तुको विवरण :
नेपालगन्जका व्यापारी भवानी गुप्ताका अनुसारहामीले भारतीय तरकारीको थोक आपूर्ति गर्छौं सबैजसो जिल्ला पुग्छौं।
कर्णाली प्रदेशको भान्सामा भारतको स्वाद हावी हुनु उपभोक्ताको रोजाइको परिणाम होइन, यो हाम्रो कृषि नीति र सरकारको असफलताको परिणाम हो। स्थानीय किसानले आफ्नो खेत बाँझो राख्न थालेको यथार्थ आयातमा निर्भरता बढ्नु र स्थानीय अर्थतन्त्र कमजोर हुनु एक अर्कासँग गाँसिएका समस्याहरू हुन्।
सम्बन्धित सबै सरोकारवालाहरु नेपाल सरकारले यस विषयमा गम्भीर भएर निति तथा कार्यक्रमहरु ल्याउन सकेन र स्थानीय उत्पादन प्रवर्द्धन गर्न प्राथमिकता दिइएन भने कर्णालीका मात्रै होईन नेपालका अधिकांश गाउँगाउँले आफ्नो संस्कृति र स्वादसँगै आत्मनिर्भरताको आत्मा पनि गुमाउने छन्।