KATHMANDU DAINIK

कमजोर राहदानी नेपाली नागरिकको अपमानको यातना

काठमाडौं, साउन १० – हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको २०२५ को सूचीमा नेपाल ९२औं स्थानमा पर्नु कुनै सामान्य सूचना होइन। यो सूचीमा नेपाल विश्वका ९९ राहदानीमध्ये पुछारतिरबाट आठौं स्थानमा परेको छ।

यति तल्लो स्थानले नेपाल मात्र होइन प्रत्येक नेपाली नागरिकको अन्तर्राष्ट्रिय पहिचान, स्वतन्त्रता र सम्मानमाथि गम्भीर प्रश्न उठाएको छ।

दक्षिण सुडान, नाइजेरिया, उत्तर कोरियाजस्ता द्वन्द्वग्रस्त वा बन्द मुलुकसँग हाम्रो पासपोर्टको हैसियत तुलना हुनु आफैंमा गम्भीर संकेत हो। त्यो मात्र यात्रा कठिन बनाउने विषय होइन, बरु यो नेपालको समग्र अन्तर्राष्ट्रिय छविको अवमूल्यन हो।

नेपाली राहदानी बोकेर विदेश यात्रा गर्ने अधिकांश नागरिकहरूलाई अध्यागमन चेकप्वाइन्टहरूमा अनावश्यक केरकार, अपमानजनक व्यवहार र अविश्वासको दृष्टिले हेर्ने प्रवृत्ति अझै विद्यमान छ।

राहदानीको शक्ति सुधार्नु भनेको केवल अन्तर्राष्ट्रिय यात्रा सजिलो बनाउनु होइन, यो राष्ट्रिय पहिचान र सम्मानको विषय हो।
देशको आन्तरिक शासन, आर्थिक क्षेत्र, सुशासन, पारदर्शिता र कूटनीतिक सक्रियतामा सुधार नगरी राहदानीको रंग फेरिएर मात्रै हाम्रो हैसियत फेरिंदैन।

इमानदार र सक्षम नेपालीलाई समेत केवल राहदानीको कारण अपहेलित हुनु सानो कुरा होइन। कति जना शिक्षित, सफल र वैदेशिक कागजातसहित यात्रा गर्दा पनि केवल ‘नेपाल’ लेखिएको कागजका कारण अपमान सहन बाध्य भएका छन् ।

कमजोर राहदानीको पछाडि सिधा सम्बन्ध देशको आन्तरिक राजनीतिमा रहेको छ। भ्रष्टाचार, कुशासन, आर्थिक अस्थिरता र कूटनीतिक कमजोरी नै नेपाललाई विश्वका कमजोर राहदानी सूचकमा पुर्‍याउने मूल कारण हुन्।

नेपालसँग १७७ राष्ट्रसँग कूटनीतिक सम्बन्ध छन्, तर त्यो सम्बन्ध सम्मानजनक नभएपछि त्यसको प्रभाव राहदानीमै देखिन्छ। देशभित्रै सुशासन र राजनीतिक स्थायित्व कायम नगरी अन्तर्राष्ट्रिय विश्वसनीयता बन्न सक्दैन।

पछिल्लो समय भारत, भुटान र माल्दिभ्सजस्ता देशले आफ्नो राहदानीको शक्ति बढाउन सफल भएका छन्। उनीहरूका नागरिकले धेरै देशमा भिसाबिनै यात्रा गर्न पाउँछन्। तर नेपालले जम्मा २० भन्दा कम मुलुकमा मात्र पूर्वप्रवेशाज्ञा (Visa-free) सुविधा पाएको छ।

यसले हाम्रो कूटनीतिक गम्भीरता, अन्तर्राष्ट्रिय सम्बन्धको अवस्था र प्रशासनिक क्षमताको अवस्थालाई प्रतिबिम्बित गर्छ। ट्रान्सपरेन्सी इन्टरनेसनलजस्ता संस्थाले नेपाललाई निरन्तर भ्रष्ट मुलुकहरूको सूचीमा राख्नु, अनि त्यही मुलुकको राहदानी कमजोर हुनु यो संयोग होइन, सीधा सम्बन्ध हो।

Exit mobile version