एमालेमा नयाँ उकुसमुकुस विद्यादेवी भण्डारीको पुनरागमन र ओली नेतृत्वमा संकट
काठमाडौं दैनिक , असार ९, २०८२
नेपालको राजनीतिमा फेरि एकपटक चहलपहल बढेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको संकेतले नेकपा एमालेभित्र हलचल ल्याएको छ। दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारी अहिले पार्टी संगठनसँग जोडिँदै अघि बढिरहेकी छन्। उनी नेतृत्वमा फर्किन लागेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा आन्तरिक चुनौतीको अवस्था सिर्जना भएको छ।
विद्यादेवी भण्डारीले पछिल्ला दिनहरूमा एमालेका विभिन्न कार्यकर्ताहरूसँग संवाद बढाएकी छन्। झापा, विराटनगर, पोखरा, भैरहवा, लुम्बिनी लगायतका ठाउँहरूमा उनी उपस्थित भएकी छन्। पार्टी कार्यक्रमहरूमा प्रमुख अतिथि बनेर सम्बोधन गर्ने, विदेश भ्रमणमा एमाले नेताको रूपमा प्रस्तुत हुनेजस्ता कदमहरूले उनको राजनीतिक पुनरागमन योजना रणनीतिक देखिन्छ।
उनले आगामी शनिबार मदन भण्डारीको जयन्तीको अवसरमा खुलेर सक्रिय राजनीतिमा फर्कने घोषणा गर्न सक्ने भनिएको छ। उक्त कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछिन्। यसले एमालेभित्रको शक्ति सन्तुलनमा गम्भीर तरंग ल्याएको छ।
राजनीतिक विश्लेषकहरू भन्छन् एमाले अध्यक्ष ओलीसँग अहिले खुला रूपमा प्रतिवाद गर्न सक्ने नेता भनेको विद्यादेवी भण्डारी नै हुन्। उनीसँग मदन भण्डारीको राजनीतिक विरासत छ साथै राष्ट्रपतिका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेको सञ्जाल छ। २०१८ सालमा जन्मिएकी भण्डारी अहिले ६४ वर्षकी छन् जब कि ओली ७४ वर्ष नाघिसकेका छन्।
यो उमेरको अन्तर र पार्टी नेतृत्वमा दुई कार्यकालको सिमामा आधारित बहसले ओलीको पुन उम्मेदवारीमा प्रश्न खडा गरेको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली लगायत नेताहरूले ७० वर्षे उमेर हद तथा कार्यकाल सिमा अनिवार्य गर्नुपर्ने आवाज उठाइरहेका छन्। यदि यी मापदण्डहरू लागु भएमा ओली स्वतः अयोग्य बन्नेछन्।
भण्डारीको बढ्दो सक्रियतालाई ओलीले नकारात्मक रूपमा लिएका छन्। उनले सार्वजनिक मञ्चमा “फलाना आउँदैछन् भन्ने हल्ला चलेको छ” भनेर भण्डारीप्रति कटाक्ष गरेका थिए। जवाफमा भण्डारीले आफू पार्टीभित्र भ्रमण गर्न अनुमति लिनुपर्ने होइन भनेकी थिइन्।
यद्यपि, पछिल्लो समय बालुवाटारमा दुई नेताबीच दुई घण्टा लामो गोप्य भेटवार्ता भएको जनाइएको छ। सो संवादमा भण्डारीले आफ्नो राजनीतिक योजना स्पष्ट पारेकी थिइन् भने ओलीले पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
नेकपा एमालेले २०६५ को आठौं महाधिवेशनबाट एकै कार्यकारी पदमा दुई कार्यकाल मात्र बस्न पाउने प्रावधान ल्याएको थियो। २०७१ मा ७० वर्षे उमेर सीमा तोकिएको थियो। २०७८ सालमा विधान महाधिवेशनले पनि यो नीतिलाई पुष्टि गरेको थियो। तर २०८० जेठमा सचिवालय बैठकले उक्त सीमा हटाएको थियो। यति हुँदाहुँदै पनि नेतृत्व परिवर्तनको माग बलियो हुँदै गएको छ।
पूर्वराष्ट्रपति भण्डारीले नेतृत्वमा प्रतिस्पर्धा गर्न सक्ने मनस्थितिमा पुगेको पार्टीभित्र चर्चा छ। भण्डारी समर्थक नेताहरूले भने यदि सहमतिमा नेतृत्व परिवर्तन भएन भने प्रतिस्पर्धाको बाटो अवश्य रोज्नेछौं।
महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमालजस्ता नेताहरू भने नेतृत्व परिवर्तनको बहसलाई अहिलेको लागि असान्दर्भिक मान्छन्। ज्ञवालीले भण्डारीलाई भविष्य नेतृत्वका रूपमा अघि सार्नु अहिले उपयुक्त समय होइन भनेका छन्। तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे लगायत नेताहरूले ओली नेतृत्वको निरन्तरतामा प्रश्न उठाएका छन् ।
भण्डारीको पुनरागमनले एमालेमा मात्र होइन राष्ट्रिय राजनीतिक परिदृश्यमा समेत गहिरो असर पार्न सक्छ। उनी महिला नेतृको रूपमा जनजनमा लोकप्रिय छन् राष्ट्रपति कार्यकालमा शालीन व्यवहार र कूटनीतिक संवादका कारण उनीलाई सहज रूपमा अस्वीकार गर्न सकिँदैन।
यदि उनी नेतृत्वमा आइन् भने एमालेभित्र मात्र होइन वामपन्थी शक्ति सन्तुलनमा समेत नयाँ समीकरण बन्ने सम्भावना छ। सम्भवत वाम एकताको नयाँ सूत्रधार बन्ने बाटो समेत खुल्नेछ।
एमालेभित्र अहिलेको ‘उकुसमुकुस’ सामान्य होइन। भण्डारीको सक्रियता र ओलीको नेतृत्वविरोधी लहर पार्टीभित्र ठूलो रूप लिन सक्छ। आगामी ११औं महाधिवेशनसम्म पुग्दा नेतृत्वमा गम्भीर प्रतिस्पर्धा हुने संकेत देखिन्छ।
यो प्रतिस्पर्धा केवल पदका लागि मात्र होइन पार्टीको भविष्य दिशा र सिद्धान्तका लागि हुने संघर्ष हुनेछ। ओलीको लामो नेतृत्वपछि नयाँ पुस्ता वा नयाँ रणनीतिक सोच ल्याउने प्रयासमा विद्यादेवी भण्डारी जस्तो पात्र अगाडि आउनु एमाले र देशको लोकतान्त्रिक अभ्यासका लागि सकारात्मक मान्न सकिन्छ। तर त्यसका लागि पार्टीभित्र स्पष्ट संवाद, सहमति र परिपक्व नेतृत्व चाहिन्छ।