KATHMANDU DAINIK

ओली नेतृत्वको सरकार “जनता झुक्याउने पाखण्ड” भीम रावलको आरोप

साउन १४, २०८२।

काठमाडौं, नेकपा (एमाले) का पूर्व वरिष्ठ नेता एवं पूर्व मन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि कडा आलोचना गर्दै विदेशी ऋणको मुद्दामा जनतालाई झुक्याएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत मंगलबार सार्वजनिक टिप्पणी गर्दै नेता रावलले ओली सरकारले आफ्नो कार्यकालमा “एक रुपैयाँ पनि विदेशी ऋण नलिने” दाबी गरे पनि व्यवहारमा त्यो ठ्याक्कै उल्टो भएको उल्लेख गरेका छन्।

उनका अनुसार “केपी नेतृत्वको गठबन्धन सरकारले एक वर्षमा २ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ विदेशी ऋण लिएको छ।” उनले लेखेका छन्, “एक रुपैयाँ पनि विदेशी ऋण नलिने भन्ने के.पी. सरकारको कार्यकालमा यति धेरै ऋण कसरी लिइयो? यो भनेको पाखण्ड होइन र ?

त्यतिमात्र होइन, रावलले विश्व बैंकले नेपाललाई दिने सहुलियत ऋणको ब्याजदर दोब्बरले बढाइए पनि सरकार चुपचाप बसेकोप्रति पनि गम्भीर आपत्ति जनाएका छन्। उनले भने, ०.७५ प्रतिशत रहेको ब्याजदर बढेर १.५ प्रतिशत पुगेको छ। तर सरकारले न त आवाज उठायो, न त जनतालाई जानकारी दियो।

रावलले यस्तो सरकारको नीति र व्यवहार जनविरोधी भएको भन्दै जनतालाई भ्रममा पार्ने प्रयास भएको आरोप लगाए। सरकारको भनाइ र गराइमा यति ठूलो विरोधाभास हुनु आफैँमा पाखण्ड हो उनले जोड दिए।

Exit mobile version