KATHMANDU DAINIK

एमाले नेता महेश बस्नेतले भने बालेन साहको उपलब्धि खुद्रामा सीमित


एमाले नेता महेश बस्नेतले भने बालेन साहको उपलब्धि खुद्रामा सीमित

काठमाडौं,असार ३२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि पुन कडा आलोचना गर्दै एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत तीव्र टिप्पणी गरेका छन्।

बालेनको नेतृत्वमा महानगरले पछिल्लो एक वर्षमा गरेको कामप्रति व्यंग्य गर्दै बस्नेतले ती उपलब्धिहरूलाई “खुद्रा” र “शो-केस” का काम भएको आरोप लगाएका छन्।

उनले फेसबुकमा लेखेका छन्,
मन्दिर सफा गरेर, रंग पोतेर, सडकमा प्रदूषण चेक गरेर, गरिब फुटपाथ व्यापारी लखेटेर, ठेला हटाएर र भवनका तला थप्न अनुमति दिएर महान उपलब्धि देखाउने प्रवृत्ति छ।

बस्नेतले बालेन साहको तुलना अघिल्ला मेयर विद्यासुन्दर शाक्यसँग गर्दै शाक्यको पालामा बनेका पार्क, रानीपोखरी, कमलपोखरी जस्ता संरचना, वडा भवन, दमकल भवन, सफा गर्ने ब्रुमरलगायत दीर्घकालीन योजनाहरू सम्झाउने प्रयास गरेका छन्।

उनले व्यंग्य गर्दै भनेका छन् अब केही टन धूलो उठाएको रिपोर्ट र केही फल्चा राखेको देखाएर ठूला कामको प्रचार हुन्छ।

बस्नेतको आलोचना त्यत्तिमा सीमित छैन। उनले उपमेयर सुनिता डंगोलले नागरिकमाझ बालेनको असक्षमता र व्यवस्थापन असफलताका कारण माफी माग्नुपरेको प्रसंगसमेत उठाएका छन्।

उपमेयरले माफी मागिन् भन्ने विषयलाई पनि बालेनसँग माफी मागिएको हो भनेर युट्युब र सोसल मिडियामा नाटक मच्चाइएको छ।

बस्नेत भन्छन् जनताको आँखामा धुलो हालेर राजधानी निर्माण हुँदैन। दीर्घकालीन योजना, हरियाली, पोखरी, पार्क र सहरी संरचना हुनुपर्छ शो–केसको हल्ला र ट्रोल होइन।

महेश बस्नेतले बालेन साहप्रति यसअघि पनि अनेकथरी आलोचना गर्दै आएका छन्।
फुटपाथ व्यापारीप्रति कारबाहीको विरोध: बस्नेतले बालेनले साना ठेला व्यवसायी र फुटपाथमा व्यापार गरेर गुजारा चलाउनेहरूलाई बर्बरतापूर्वक हटाएको भन्दै आलोचना गरेका थिए। उनले सरकारसँग स्थायी व्यवस्थापनबिना यस्तो कारबाही अनुचित भएको तर्क गरेका थिए।

सोसल मिडियामार्फत कामको प्रचार: बस्नेतले विगतमा पनि बालेनले सामाजिक सञ्जाल र मिडियामार्फत पपुलिस्ट शैलीमा काम गरिरहेको आरोप लगाउँदै, “फेसबुक र ट्रोलले शहर बन्दैन” भनेर कटाक्ष गरेका थिए।

अर्को पोष्टमा उनले लेखेका थिए, “टिकटक र रीलका लागि मन्दिर र सडक सफा गरे पनि त्यो दीर्घकालीन विकास होइन।

स्थायी योजनाको अभाव: बस्नेतको सधैंको टिप्पणी यही रहन्छ कि बालेनको काम ‘अनपेक्षित र अल्पकालीन’ छ, जसले दीर्घकालीन शहर व्यवस्थापनमा योगदान दिन सक्दैन।

यता बालेनका समर्थकहरूले भने बस्नेतका टिप्पणीहरूलाई ‘राजनीतिक घृणा’का रूपमा हेरिरहेका छन्। उनीहरूको तर्क छ, बालेन बिना पार्टीबाट, स्वतन्त्र भएर चुनाव जितेका जनप्रतिनिधि हुन् जसले “एजेन्डा आधारित विकास” थालेका छन्। यद्यपि बालेनले स्वयंले यी आलोचनामाथि औपचारिक टिप्पणी भने गरेका छैनन्।

महेश बस्नेतका पछिल्ला भनाइहरूले काठमाडौंको नेतृत्व र राजधानीको रूपान्तरणबारे पुन बहस चर्किएको छ। जनताको नजरमा बालेनको कामले अपेक्षित रूप धारण गर्‍यो कि गरेन भन्ने मूल्याङ्कन अझै बाँकी नै छ।

तर एमाले नेताको निरन्तर आलोचना र बालेन समर्थकको लगातार समर्थनले काठमाडौंको राजनीतिमा स्वतन्त्र नेतृत्व र पारंपरिक दलबीचको द्वन्द्व झनै चर्किदै गएको देखिन्छ।

Exit mobile version