KATHMANDU DAINIK

एमसीसी परियोजना : पुन सुचारू नेपालले गर्‍यो स्वागत

 

एमसीसी परियोजना : पुन सुचारू भएकोमा नेपालले स्वागत गरेको छ

असार १९, २०८२।  काठमाडौं दैनिक: संवाददाता

काठमाडौं — एमसीसी परियोजना फेरि नयाँ गतिमा आएको छ। विवाद र अन्योलताका बीच अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको नेपाल कम्प्याक्ट कार्यान्वयनलाई अमेरिकी सरकारले अस्थायी छुट दिएपछि यस परियोजनाले फेरि गति लिएको छ। एमसीए नेपालले यसलाई ‘महत्वपूर्ण अवसर’ भन्दै स्वागत गरेको छ।

नेपाल सरकारको तर्फबाट स्पष्ट औपचारिकता आउन बाँकी छ। अर्थ मन्त्रालयले अहिले पनि परियोजनाको निरन्तरताबारे कुनै आधिकारिक पत्र प्राप्त नभएको जनाएको छ।
प्रवक्ता भण्डारी भन्छन् पहिले जस्तै इमेलबाट स्थगन भएको जानकारी आएको थियो तर निरन्तरता दिने औपचारिक जानकारी अझै आएको छैन।

अर्कोतर्फ एमसीए नेपालले आयोजना अन्तर्गत हुने सबै कार्यहरू जस्तै प्रसारण लाइन, सबस्टेसन निर्माण र सडक मर्मतलाई तीव्र गतिमा अगाडि बढाएको छ। बोलपत्र, मूल्यांकन, भुक्तानीलगायतका कार्यहरू नियमितजस्तै भइरहेका छन्।

 

एमसीए नेपालका अनुसार, गत चैतदेखि भुक्तानीको प्रक्रियामा केही रकम डलर खातामा सिधा पठाइएको छ। यही आधारमा परियोजनाले काम जारी रहेको विश्लेषण गरिएको हो। एमसीसीका प्रतिनिधिहरू र अमेरिकी दूतावासले पनि परियोजनालाई निरन्तरता दिने मौखिक प्रतिबद्धता जनाएका छन्।

यो मौखिक प्रतिबद्धता राजनीतिक हिसाबले निकै संवेदनशील छ। विशेषत यस्तो समयमा जब एमसीसीकै विषयमा अझै विभाजित धारणा संसदभित्र र बाहिर दुवैतर्फ रहेको देखिन्छ।

अमेरिकाले वैदेशिक सहायता कार्यक्रम समग्रतामा पुनरावलोकन गरिरहेको बेला नेपाललाई विशेष छुट दिएको छ। यसले नेपालको ‘भरोसायोग्य साझेदार’ को छवि निर्माण गर्न सहयोग पुर्‍याएको अनुमान गरिएको छ।

यद्यपि आलोचकहरू भन्छन् सहयोग होइन सर्तसहितको सामरिक प्रभाव फैलाउने उपकरण हो एमसीसी। तर एमसीए नेपाल र सरकार समर्थक पक्षहरू यसलाई पूर्वाधार विकासको सुनौलो अवसर मान्छन्।

२०७४ मा गरिएको सम्झौता २०८० भदौ १३ बाट लागू भइसकेको भए पनि राजनीतिक, कानुनी र व्यावहारिक रूपमा परियोजना अझै सन्तुलन खोजिरहे जस्तो देखिन्छ। यस्तो समयमा परियोजनाले बोलपत्र आह्वान गर्दै पुन गतिमा आएको सन्देश दिनु भनेको ठोस कार्यको संकेत हो।

यस विषयमा जबसम्म अमेरिकी सरकारको स्पष्ट लेखिएको निर्णय नेपाल सरकारलाई प्राप्त हुँदैन तबसम्म अनौपचारिक निरन्तरता नै परियोजनाको चिनारी बन्न सक्छ।

Exit mobile version