ईटाभट्टाबाट डाक्टर बन्ने सपना : को हुन गोमा
असार २०, २०८२ । काठमाडौं दैनिक संवाददाता
काठमाडौं – जहाँ दुःख हुन्छ त्यहाँ सपना हुन्छ। जहाँ सपना हुन्छ त्यहाँ सम्भावना जन्मिन्छ । यस्तै एक प्रेरणादायी कथा बनेकी छन् गोमा श्रेष्ठ । डाक्टर बन्ने सपना बोकेर बिहान बेलुका इँटाभट्टाको खलामा इँटा बोक्दै अध्ययन गरिरहेकि एक किशोरीले यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ GPA जीपीए ल्याएर सबैलाई चकित पारेकी छिन् ।
गोमाको संघर्षमय जीवन, अठोट र उपलब्धि देखेर भाटभटेनी सुपरमार्केट समूहका अध्यक्ष व्यवसायी मिन बाहादुर गुरुङ दम्पतीको मन छोइयो, फलस्वरूप गोमाको डाक्टर बन्ने सपना पूरा हुने भएको छ ।
रामेछापकी गोमा श्रेष्ठको जीवन कुनै आम किशोरीको जस्तो थिएन । उनका लागि बिहानको घाम एक दिनको शुरूवात मात्र थिएन जिवनको सपनाहरुको उज्यालो किरणसंगै इँटा बोक्ने जिम्मेवारी पनि थियो ।
बिहान–बेलुका परिवारको जीविकोपार्जनका लागि पसिना बगाउँदै दिनको केही समय पढाइमा खर्चिने गोमाले परीक्षामा देखाएको नतिजा मात्र अंकको सफलता होइन,उनको जिन्दगीको लक्ष्य र सपना पूरा गर्ने थालनी पनि हो।
४ GPA जिपिए नेपालमा जुनसुकै विद्यालयका विद्यार्थीको पनि सपना हुन्छ । तर इँटाभट्टाबाट स्कुल जाने, पुस्तकभन्दा पहिले इँटा बोक्ने गोमाले त्यो सपना साकार मात्र बनाइन् अरूका लागि प्रेरणाको स्रोत पनि बनिन्। जब यो सन्देश समाजमा फैलियो, त्यो खबर भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङको कानसम्म पुग्यो।
बिहीबार, असार १९ गतेको दिन गोमा श्रेष्ठको जीवनमा ऐतिहासिक बन्यो। भाटभटेनी समूहको केन्द्रीय कार्यालयमा गोमालाई आमन्त्रित गर्दै, अध्यक्ष मीनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले उनलाई नगद १ लाख रुपैयाँ, एउटा ल्यापटप उपहार स्वरुप दिदै उनको कक्षा ११, १२ र एमबीबीएस सम्मको अध्ययनको सम्पूर्ण खर्च ब्यहोर्ने घोषणा गरे।
गोमाको आँखाभरि आँसु थियो, त्यो पीडाको थिएन त्यो आशाको थियो, विश्वासको थियो। ‘डाक्टर बन्ने मेरो सपना छ उनले छोटो भावुक सम्बोधनमा भनिन् तर आर्थिक अवस्था कमजोर हुँदा सपना मात्रै बन्थ्यो । अब त्यो सपना साकार हुँदैछ।
गुरुङ दम्पतीले गोमालाई मात्र होइन, देशभरका थुप्रै प्रतिभाशाली विपन्न विद्यार्थीलाई विगतदेखि नै उच्च शिक्षा अध्ययनमा सहयोग गर्दै आएका छन्। यसअघि पनि कयौं विद्यार्थीलाई एमबीबीएस पढ्नको लागि छात्रवृत्ति दिएका थिए।
मीनबहादुर गुरुङ नेपाली व्यवसाय र समाजसेवाको क्षेत्रमा एक चिनिएका नाम हुन्। ‘सपना देख्न पाइन्छ, तर पूरा गर्न पनि सघाउनु पर्छ भन्ने सोच बोकेका गुरुङले गोमालाई देखेर भने म पनि गाउँबाट आएको मान्छे हुँ,गोमाको संघर्षमा मैले आफ्नै बाल्यकाल देखेँ ।
उनकी धर्मपत्नी सावित्री गुरुङले भनिन् डाक्टर बन्ने सपना बोकेर संघर्ष गरिरहेकी गोमाको आँखा देख्दा हामी दुईलाई केही गर्नैपर्छ भन्ने लाग्यो। अब त्यो सपना साकार बनाउने जिम्मा हाम्रो भयो।
इँटाभट्टामा काम गर्दै पढ्नेलाई ‘हामीले सकेनौं’ भन्ने बहानाको ठाउँ रहेन, गोमाको जीवन अब एक उज्यालो संदेश बन्न सक्छ विपन्नतालाई जितेर सपनालाई अँगाल्ने नयाँ यात्राको थालनी गर्दैछिन् ।
देशमा यस्ता प्रतिभा थुप्रै छन् तर अवसर सीमित छ गोमाको भाग्यले गुरुङ परिवारको मन छोयो, तर अझै कयौं गोमाहरू छन् जसलाई त्यस्तै सहयोगी मनहरुको आवश्यक छ।गुरुङ परिवारले नेपालमा शिक्षा र स्वास्थ्यमा आफ्नो सामाजिक उत्तरदायित्वको रूपमा निरन्तर योगदान दिँदै आएको छ।
भाटभटेनी समूह व्यवसायमा जति सफल छ, समाजसेवामा पनि उत्तिकै अग्रणी छ। गोमाको जीवनमा उनले थपेको उज्यालो मात्र एक घटना होइन, यो एक उदाहरण हो कसरी निजी क्षेत्रले पनि सामाजिक न्यायमा टेवा पुर्याउन सक्छ भन्ने उदाहरण हुन् ।
उनी अब डाक्टर बन्ने यात्रामा छिन्, तर त्यो यात्रा केवल उनको व्यक्तिगत होइन, त्यो सम्पूर्ण संघर्षशील युवाको प्रतिनिधि यात्रा पनि हो।
भोलिका दिनमा कुनै अस्पतालमा गोमा श्रेष्ठ ‘डाक्टर गोमा’ लेखिएको स्टिकरमुनि मुस्कुराउँदै बिरामी जाँचिरहेको दृश्य सायद हामीले देख्नेछौं। र त्यो बेला हामी सम्झनेछौं एकजना किशोरी, एक इँटाभट्टा, र एक मनकारी परिवार जसले मिलेर यो सम्भावनाको ढोका खोलिदिएको थियो भनेर हामीले गर्व गर्नेछौं ।