सिड्नी, साउन ६ – नेपाली तेक्वान्दोमा लामो समय योगदान दिएका रोहित तामाङले अष्ट्रेलियाको न्युक्यासल शहरमा ‘गुर्खाज तेक्वान्दो एकेडेमी’ स्थापना गरेका छन्। पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा पाँच पटकका राष्ट्रिय च्याम्पियन तामाङले नेपाली समुदायका युवामा अनुशासन, आत्मविश्वास र खेल भावना विकास गर्नका लागि यो एकेडेमी सञ्चालनमा ल्याएको जानकारी दिएका छन्।
“तेक्वान्दोले मेरो जीवन परिवर्तन गर्यो। अब म यसलाई अरुको जीवन निर्माणमा उपयोग गर्न चाहन्छु।
रोहित तामाङ, मुख्य प्रशिक्षक ।
नेपालको सिन्धुपाल्चोकमा जन्मिएका तामाङ सन् २०१७ मा अष्ट्रेलिया आएका थिए। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट करियर सुरु गरेका उनी हाल ४थ डान ब्ल्याक बेल्ट होल्डर हुन्। उनले लन्डन ओपन च्याम्पियनसिपबाट रजत, थाइल्यान्ड ओलम्पिक छनोट प्रतियोगिता र कोरियन ओपनजस्ता प्रतियोगितामा नेपाल प्रतिनिधित्व गरिसकेका छन्।
हाल नयाँ एकेडेमीमा १३ जना खेलाडी नियमित प्रशिक्षणमा सहभागी छन् भने मेटल्यान्ड र न्युक्यासल समग्रमा २८ जना खेलाडी प्रशिक्षणरत छन्। यसअघि तामाङले उज्वल गुरागाईंसँग मिलेर इस्ट मेटल्यान्डमा एकेडेमी सञ्चालन गरेका थिए।
प्रशिक्षक तामाङ अष्ट्रेलिया आएपछि पनि सक्रिय खेलाडीकै रूपमा प्रतिस्पर्धामा उत्रिएका छन्।
उनले गोल्डकोस्ट ओपनमा रजत पदक हासिल गरेका थिए।