KATHMANDU DAINIK

अब म मरेर हैन, गरेर देखाउँछु, एलिना र समीक्षाको ट्रोलविरुद्धको साहसी विद्रोह

“अब म मरेर हैन, गरेर देखाउँछु” एलिना र समीक्षाको ट्रोलविरुद्धको विद्रोह

असार २१, २०८२। काठमाडौं दैनिक संवाददाता

नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिकाद्वय सामाजिक सञ्जालमा महिला कलाकारहरूमाथि हुने चरित्र हत्या, गालीगलौज र ट्रोल संस्कृति विरुद्ध दुई लोकप्रिय गायिका एलिना चौहान र समीक्षा अधिकारीले मिलेर शुरु गरेको अभियान अहिले सिंगो समाजमा बहसको विषय बनेको छ।

उनीहरूले चुप लागेर सहने संस्कृतिलाई तोड्दै कानुनी बाटो रोजे, समाजलाई सामना गरे र हजारौँ युवतीका लागि आवाज बने।

केही महिनाअघि सम्म एलिना आफ्नै व्यक्तिगत पीडालाई बिर्सन खोज्दै थिइन्। तर डिभोर्सपछि उनलाई सार्वजनिक कार्यक्रममा निषेध गरियो,सामाजिक सञ्जालमा चरित्र हत्या गरियो। त्यसपछि उनले निर्णय गरिन्,अब चुप लागेर बस्दिन।

समीक्षा अधिकारीको पनि पीडा त्यत्तिकै गहिरो थियो।
उनलाई पनि व्यक्तिगत निर्णय, कपडाको शैली, बोल्ने तरिका र सामाजिक गतिविधिका आधारमा निरन्तर ट्रोल गरियो।

एक अन्तर्वार्तामा सामान्य अभिव्यक्ति दिएको भरमा उनलाई अपशब्द बर्साइयो। “हामीले अपराध गरेका छैनौँ” समीक्षा भन्छिन् हामी हाम्रो जीवन हाम्रो हिसाबले बाँच्न खोजिरहेका छौँ यहाँ त्यसकै सजाय दिइँदैछ।

ट्रोलरको प्रोफाइल सार्वजनिक गर्दै कानुनी बाटोमा

एलिना र समीक्षाले दुर्व्यवहार गर्ने व्यक्तिहरूको सामाजिक सञ्जाल प्रोफाइलहरू सार्वजनिक गर्न थाले। त्यसपछि प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरे। गृह मन्त्री रमेशसँग भेट गरेर अभियानको औचित्य प्रस्ट पारे। मन्त्रीले नैतिक समर्थन जनाए र प्रहरी पनि सक्रिय भयो। एलिनाको उजुरीपछि एकजना ट्रोलर पक्राउ परे र बाँकीको खोजी जारी रहेको बताएको छ ।

अब डराउने होइन, लड्ने हो भन्ने सोचको थालनी

एलिना भन्छिन् अब पछाडि फर्किनु भनेको अर्को पुस्तालाई गाली सह भनेर छाड्नु हो। समीक्षा थप्छिन् आज हामी बोल्यौँ भोलि अरूले बोल्न सक्ने साहस पाउनेछन्।

यी दुई गायिकाको आवाज सुन्दै कलाकार, पत्रकार, अधिकारकर्मी र जनप्रतिनिधिहरू एक एक गर्दै साथ दिन थाले। सामाजिक सञ्जालमा समर्थन जनाउनेको संख्या दिनानुदिन बढ्न थाल्यो।

हाम्रो निजी जीवन समाजको हतियार बनेको छ

एलिना र समीक्षाको साझा पीडा यत्ति हो समाजले उनीहरूको व्यक्तिगत जीवनको निर्णयलाई हतियार बनाएर नैतिक हमला गर्‍यो। एलिनालाई डिभोर्सपछि बारम्बार कार्यक्रममा गिज्याइयो। समीक्षालाई प्रेम सम्बन्धका टिकाटिप्पणीले हैरान बनायो।

एलिनाले बारम्बार आत्महत्याको सोच बनाएकी थिइन्।
तर उनले आफैँलाई पुनर्जीवन दिने निर्णय गरिन्। ओशोका प्रवचन सुने, ध्यान गरे, जीवनको अर्थ फेरि खोजिन्। उनी भन्छिन् त्यो समय मेरो दोस्रो जन्मजस्तै थियो।

समीक्षा पनि गहिरो मानसिक संकटबाट गुज्रिन्। तर आज उनी आत्मबलले भरिएकी छन्। अब समाजले गल्ती गर्छ भने त्यसलाई चुपचाप सहनु होइन आवाज उठाउनु हाम्रो अधिकार हो।

हामी हाम्रो लागि मात्रै होइन, सबैका लागि लडिरहेका छौँ।

एलिना र समीक्षाको यो कदम अब व्यक्तिगत पीडाभन्दा पनि सामाजिक परिवर्तनको अभियान बनेको छ। उनीहरूको परिवार पनि गर्वले भन्छ हाम्रा छोरीहरू अहिले सबै छोरीहरूको पक्षमा बोलिरहेकी छन्।

एलिना र समीक्षाले सुरु गरेको ट्रोलविरुद्धको यो विद्रोह केवल दुई महिलाको कथा होइन यो सिंगो पुस्ताको आत्मसम्मान र अभिव्यक्तिको अधिकारको कथा हो। उनीहरूले देखाएका साहसले भविष्यमा कलाकार बन्न चाहने धेरै छोरीहरूलाई सुरक्षित अनुभूति दिलाउनेछ।

अब सामाजिक सञ्जालको दुर्व्यवहारविरुद्ध चुप बस्ने होइन, स्पष्ट रूपमा स्ट्यान्ड लिने समय आएको छ जसको नेतृत्व एलिना र समीक्षाले गरिरहेका छन्।

Exit mobile version