काठमाडौं, साउन ८ – अब सामाजिक सञ्जालमार्फत दर्ता बिना व्यवसाय गर्न पाइने छैन। सरकारले सामाजिक सञ्जालमा अनलाइनमार्फत सेवा, सामान वा अन्य व्यापारिक क्रियाकलाप सञ्चालन गर्न चाहने व्यक्तिहरूलाई अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गर्न लागेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिले यस्तो व्यवसाय नियन्त्रण गर्न नयाँ नीति र कानुनी आधार तयार गरिरहेको छ। मन्त्रालयका सचिव रामकृष्ण सुवेदीका अनुसार अब सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार गर्नेहरूले पनि राज्यमा दर्ता गर्नैपर्ने हुन्छ।
“अब अनलाइनमार्फत सेवा वा सामान बिक्री गर्ने, अफलाइन व्यापारको प्रचार गर्ने, इन्फ्लुएन्सर मार्केटिङ वा विज्ञापनसम्बन्धी सामग्री उत्पादन गर्ने सबैले अनिवार्य रूपमा व्यवसाय दर्ता गर्नुपर्ने हुन्छ, सचिव सुवेदीले भने, अब हचुवामा चल्ने स्थिति रहँदैन।
के-के व्यवसाय समेटिन्छ?
फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता प्लेटफर्म प्रयोग गरी
कपडा, कस्मेटिक वा अन्य सामान बिक्री
अनलाइन कोर्स वा तालिम बेच्ने
अफलाइन पसल/सेवा प्रमोट गर्ने
ब्रान्डको तर्फबाट भिडियो/सामग्री बनाएर प्रचार गर्ने (इन्फ्लुएन्सर)
यी सबै व्यवसाय ‘व्यावसायिक प्रयोजनका लागि सामाजिक सञ्जालको प्रयोग’ अन्तर्गत पर्नेछन्।
मन्त्रालयले सिफारिस गर्न लागेको कानुनमा यस्तो व्यवस्था समावेश गरिने बताइएको छ।
सामाजिक सञ्जालमा सामग्री बनाएर आम्दानी गर्ने युट्युबर, टिकटक स्टार, इन्स्टाग्राम इन्फ्लुएन्सरहरू पनि यस दायरामा पर्छन्।
तपाईं ब्रान्डको सामग्री प्रचार गर्नुहुन्छ भने तपाईंले व्यवसाय गर्नुभएको हो, सञ्चार मन्त्रालय स्रोतले भन्यो, त्यसैले त्यसको दर्ता अनिवार्य हुन्छ।
अब सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार गर्न चाहने जो-कोहीले अनिवार्य रूपमा कानुनी प्रक्रिया पुरा गर्नुपर्नेछ। यसले उपभोक्ता सुरक्षादेखि राज्यको राजस्व संरक्षणसम्मको पक्षलाई सम्बोधन गर्ने सरकारको दाबी छ।