थाई प्रधानमन्त्रीको राजीनामाको मागसहित हजारौंको प्रदर्शन: टेलिफोन वार्ताले बढायो आक्रोश
असार १६, काठमाडौं दैनिक, संवाददाता
बैंकक, थाईल्याण्ड – थाई राजधानी बैंककमा हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री पैतोङतार्न शिनावात्रको राजीनामा माग्दै सडकमा उत्रिएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई “राष्ट्रको शत्रु” भनेका प्लेकार्ड बोकेका थिए र भारी वर्षा हुँदासमेत भिक्टोरी मोनुमेन्ट क्षेत्रमा हजारौंको भीड जम्मा गरेका थिए।
विरोधको मुख्य कारण हालै लिक भएको एउटा टेलिफोन वार्ता हो, जसमा प्रधानमन्त्री पैतोङतार्नले क्याम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनलाई “काका” भनेर सम्बोधन गरेकी थिइन्।
यो वार्ता सीमावर्ती क्षेत्रमा भएको झडप सम्बन्धमा भएको थियो । जसमा एक क्याम्बोडियन सैनिक मारिएको थियो। सोही वार्ताका कारण प्रधानमन्त्रीमाथि देशको सार्वभौमिकतालाई कमजोर बनाएको आरोप लाग्दै आएको छ।
प्रधानमन्त्रीले आफूले राजनीतिक कूटनीतिक तरिकाबाट कुरा गर्न खोजेको भन्दै माफी मागेकी छिन्। तर जनताले यो कुरा स्वीकार गर्न मानेका छैनन्।
राष्ट्रिय झन्डा लहराउँदै र विरोधी नारासहित जनताहरु हजारौंको संख्यामा राजधानीको सडकमा उत्रिएका छन् ।
प्रदर्शनकारी नेताहरूले भने प्रधानमन्त्रीले देशको सम्मान र सुरक्षा कमजोर बनाएकी छन् र उनलाई अब पदमा रहन कुनै नैतिक आधार छैन।
७० वर्षीय सेरी सवाङमुएले भने म देशको सार्वभौमिकता जोगाउन यहाँ आएको हुँ। प्रधानमन्त्री पदको लागि अयोग्य भएकी छिन्।
पैतोङतार्न, ३८ वर्षीया नेतृ पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रकी छोरी हुन्। थाक्सिन सन् २००६ मा सैन्य कू पछि पदच्युत भएका थिए र लामो समय देशबाहिर निर्वासनमा बसेका थिए। उनी गत वर्षमात्रै स्वदेश फर्किएका हुन्।
पैतोङतार्न आफैं दस महिनाअघि मात्र प्रधानमन्त्री बनेकी हुन्। उनी थाइल्याण्डको दोस्रो महिला प्रधानमन्त्री हुन् त्यसअघि उनकी काकी यिंगलक शिनावात्र थिइन्।
विरोधमा उत्रेका प्रदर्शनकारीहरू लामो समयदेखि शिनावात्र परिवारविरुद्धको आन्दोलनमा सक्रिय छन्। उनीहरूले शिनावात्र परिवारको नेतृत्वमा देशले लोकतन्त्र गुमाइरहेको आरोप लगाउँदै आएका छन्।
भोलि (मंगलबार) थाई संवैधानिक अदालतले प्रधानमन्त्रीविरुद्ध दर्ता भएको याचिकामाथि सुनुवाइ गर्नेछ। याचिका प्रधानमन्त्रीको “गैरपेशागत व्यवहार” को आरोपमा दायर गरिएको हो।
हुन सेनले भने उक्त अडियो वार्ता आफैंले ८० जना नेताहरूसँग सेयर गरेको बताएका छन्। तीमध्ये कसैले लिक गरेको हुनसक्ने उनले जनाएका छन्। पछि उनले उक्त १७ मिनेट लामो अडियो क्लिप आफ्नो फेसबुकमा सार्वजनिक नै गरे।
यो टेलिफोन विवादले हालै झनै तातिएको थाई-क्याम्बोडियन सीमा तनावलाई थप चर्काएको छ। मे महिनाको अन्त्यतिर क्याम्बोडियाली सैनिकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध झनै चिसिएको हो।
यो सीमा विवादको इतिहास फ्रेन्च उपनिवेशकालदेखि सुरु भएको हो। तनावका कारण क्याम्बोडियाले थाई उत्पादन (खाद्य सामग्री, बिजुली, टेलिभिजन, चलचित्र आदि) माथि प्रतिबन्ध लगाइसकेको छ।
यद्यपि शिनावात्र परिवार र हुन सेन परिवारबीच लामो समयदेखि मित्रता रहेको मानिन्छ। हुन सेन र थाक्सिन शिनावात्र “धार्मिक दाजुभाइ” (godbrothers) मानिन्छन्।
प्रदर्शन आयोजना गर्ने समूहले भनेको छ कार्यपालिका र संसद संवैधानिक राजतन्त्र र जनताको हितमा काम गर्न असफल भएको छ। भविष्यमा अझ ठूलो प्रदर्शन हुने संकेत पनि उनीहरूले दिएका छन्।
संक्षेपमा: टेलिफोन वार्ताबाट सुरु भएको विवादले अहिले प्रधानमन्त्रीको कुर्सी हल्लाइरहेको छ। जनताको आक्रोश बढ्दो छ अदालतको निर्णय प्रतीक्षारत छ र थाई राजनीतिक परिदृश्य फेरिने संकेत समेत प्रष्ट रूपमा देखिएको छ ।