कार्तिक २२, २०८२। प्रयास लामा

जनकपुधाम – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका छन्। असोज २९ गते संविधानको धारा १६८(२) अनुसार नियुक्त भएका सोनलको सरकार गठन भएको केवल २५ दिनमै ढलेको हो।
शनिबार मधेश प्रदेशसभामा विश्वासको मत लिनुपर्ने कार्यक्रम तय थियो। तर मुख्यमन्त्री बन्न समर्थन गरेका केही सांसद विपक्षी पक्षमा उभिएपछि सोनलले विश्वासको मत नपाउने स्थिति स्पष्ट भएपछि प्रक्रिया सुरु हुनुअघि नै पदबाट राजीनामा दिएका हुन्।
सोनल जनता समाजवादी पार्टी (जसपा) का नेता हुन्। जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए। पाँच दलका ५६ सांसदको समर्थनमा बनेको गठबन्धन छोटो समयमै टुटेपछि सरकार असफल भएको हो।
संविधानविद् चन्द्रकान्त ज्ञवालीका अनुसार, धारा १६८(२) अन्तर्गतको मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि अब संसद्को सबैभन्दा ठूलो दल एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ।
संविधानको धारा १६८(३) अनुसार, यदि उपधारा (२) अन्तर्गत नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न असफल भएमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने अधिकार पाउँछन्।
यससँगै मधेश प्रदेशमा राजनीतिक शक्ति सन्तुलन फेरि परिवर्तन हुने निश्चित भएको छ।












