काठमाडौं – सन् २०२५ को ब्लकबस्टर नेपाली फिल्म “होस्टेल ३” अब भारतीय बजारमा पनि प्रवेश गर्ने भएको छ।
फिल्म भदौ २० गते (सेप्टेम्बर ५) देखि सिक्किम, दार्जिलिङ, सिलिगुढी, सिन्ताम, गुवाहटी, आसाम, मणिपुर लगायत ५० भन्दा बढी हलहरूमा प्रदर्शन हुने पक्का भएको छ।
नेपालमा ४ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरिसकेको यो फिल्म अब भारतका नेपाली भाषी दर्शकलाई लक्षित गरी प्रदर्शन गरिंदैछ।
भारतमा यसको वितरण अधिकार गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले लिएका छन्।
फिल्ममा पारस बम, सिम्रन पन्त, र ‘भ्वाइस अफ नेपाल’ फेम रिहान गिरीको प्रमुख भूमिका छ।
फिल्मको निर्देशन सशान कँडेल सन्तोषले गरेका हुन्।
नेपालमै हिट भएको यो फिल्मको कन्टेन्ट, युवा लक्षित कथावस्तु, हास्यरस र सामाजिक यथार्थलाई समीक्षकहरूले सराहना गरेका छन्।
काठमाडौं – भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ। हास्यप्रधान र सामाजिक सन्देश बोकेको उक्त फिल्मको ट्रेलरले दर्शकहरूलाई रमाइलो तर, गम्भीर सन्देश दिएको छ। बिना मिहेनत पैसा कमाउन खोज्नु गलत हो।
चार मिनेट लामो ट्रेलरमा केदारप्रसाद घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, र शारदा गिरी मुख्य भूमिकामा देखिएका छन्। मिस पबीलाई टेलिभिजन प्रस्तोताको रूपमा र कोमल वलीलाई न्यायाधीशको सानो झल्कोमा प्रस्तुत गरिएको छ।
फिल्मको कथावस्तु एक गाउँले निर्धन युवाको सपना र त्यसलाई पुरा गर्न गरेको संघर्ष वरिपरि घुमेको छ। केदार घिमिरेलाई विभिन्न अवतारमा देखाइएको छ जसले हास्यको साथसाथै समाजमा गहिरो सन्देश दिन खोजिएको बुझ्न सकिन्छ। यो फिल्म उनको शीर्ष भूमिकामा अभिनय गरिएको पहिलो फिल्म हो।
निर्देशक ऋषि लामिछानेद्वारा निर्देशित यस फिल्मको पटकथा सामीप्य तिमल्सेनाले लेखेका हुन्। मधुसुधन शर्माको निर्माण तथा नरेन्द्र मैनालीको छायांकन रहेको फिल्म सामाजिक, आर्थिक र राजनीतिक यथार्थमाथि गहिरो व्यंग्य हो।
ट्रेलरमा हँसाउने दृश्यहरूसँगै फिल्मले यथार्थ देखाउने प्रयास गरेको छ, जसमा सजिलो बाटोबाट धनी बन्ने चाहना, भ्रष्ट मानसिकता र समाजमा व्याप्त असमानतालाई देखाइएको छ। ‘माग्ने राजा’ केवल मनोरञ्जन मात्र नभई शिक्षाप्रद पनि हुने अपेक्षा गरिएको छ।
फिल्म तीजको अवसर पारेर भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। यसअघि सार्वजनिक गरिएको गीत ‘त्यो मीठो जोवन’ र फिल्मको प्रोमो सामग्रीले युट्युबमा लाखौँ भ्यूज पाइसकेको छ, जसले दर्शकहरूमा फिल्मप्रतिको उत्सुकता झनै बढाएको छ।