काठमाडौं, साउन ६ – नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै नेपाली सेयर बजारमा पुनः उत्साहपूर्ण गतिविधि देखिन थालेको छ। विशेषगरी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसँगै कम्पनीहरूले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने क्रमले तीव्रता पाएको छ, जसका कारण लगानीकर्ताहरू लाभांशको आशामा बजारतर्फ आकर्षित भएका छन्।
आइतबारको सेयर कारोबार २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ पुगेर झण्डै एक वर्षको रेकर्ड तोड्न सफल भयो। साताको दोस्रो दिन सोमबार पनि लगानीकर्ताको सक्रियताले बजार उत्साहजनक देखियो। नेप्से परिसूचक २१.७६ अंकले वृद्धि भई २८९२.७२ विन्दुमा पुगेको छ जुन साढे चार महिनाको उच्च बिन्दु हो।
यस दिन ३११ वटा कम्पनीको ३ करोड ५६ लाख कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। यद्यपि आइतबारको तुलनामा कारोबार रकममा ५ अर्ब ३२ करोडले कमी आएको छ।
सोमबार कारोबार भएका कम्पनीमध्ये १५३ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ९६ वटाको मूल्य घटेको छ। सबै १३ वटा समूहको उपसूचक हरियालीमा रहेको छ, जसमा डेभलपमेन्ट बैंक, माइक्रोफाइनान्स, नन लाइफ इन्स्योरेन्स तथा अन्य समूहको उपसूचकमा १ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।
यस दिन थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर, र सानभी इनर्जी कम्पनीहरूको सेयर सकारात्मक सर्किटमा कारोबार भएको हो। नेपाल री–इन्स्योरेन्स कम्पनी ७५ करोड ६६ लाखको कारोबारसहित शीर्ष स्थानमा रह्यो।
ब्याज दर घट्दा सेयर बजारमा लगानीको आकर्षण
नेपाल राष्ट्र बैंकले हालै लागू गरेको मौद्रिक नीतिको प्रभाव सेयर बजारमा पनि देखिन थालेको छ। बैंकको नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।
यससँगै बैंकहरूमा कर्जाको ब्याज दर घटेको र तरलता पर्याप्त भएकाले सेयर बजारमैत्री वातावरण सिर्जना भएको एनएमबी बैंकका पूर्व सिईओ सुनील केसी बताउँछन्।
कम ब्याजदरका कारण बैंकमा पैसा राखेर कम फाइदा हुने भएकाले धेरै लगानीकर्ताले सेयर बजारतर्फ रुझान देखाएका छन्। बचत खाताको औसत न्यूनतम ब्याज दर २.७७ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.७ प्रतिशत मात्र देखिएको छ।
सेयर बजार विश्लेषक देव गुरागाईंका अनुसार कम्पनीहरूले वार्षिक वित्तीय विवरण सार्वजनिक गरेसँगै बोनस तथा लाभांशको घोषणा गर्ने सम्भावना उच्च हुने भएकाले लगानीकर्ताले रणनीतिक रूपमा बजारमा पोजिसन लिएका छन्। उनले भने २०७८ सालको बुल मार्केटमा जुन–जुन कम्पनी अगाडि थिए, अहिले पनि तिनकै नेतृत्व देखिन्छ। नयाँ लगानीकर्ताको तुलनामा पुराना लगानीकर्ताले बजार धानेका छन्।
२०८१/८२ मा सेयर बजारले ऐतिहासिक कारोबार गरेको छ। वर्षभरिमा २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो। बजार पूँजीकरण ३५ खर्ब ५३ अर्बबाट बढेर ४६ खर्ब ५६ अर्ब पुगेको छ। सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ भने पहिलो पटक सार्वजनिक निष्कासनबाट ४ कम्पनी थपिएका छन्।
हाल देखिएको बजार उत्साह र लगातारको सकारात्मक कारोबारले आगामी दिनमा सेयर बजार अझ सशक्त र स्थिर हुने संकेत देखिएको छ। लाभांशको आशाले लगानीकर्ताको भरोसा बलियो बनेको छ भने घट्दो ब्याजदरले पूँजी बजारतर्फको आकर्षण थपिएको छ।