काठमाडौं, साउन ६ – बंगलादेशले महिला साफ यु-२० च्याम्पियनसिपको उपाधि जित्दै पुनः आफ्नो दबदबा कायम राखेको छ। सोमबार बसुन्धरा किङ्स स्टेडियममा भएको अन्तिम निर्णायक खेलमा नेपाललाई ४–० को एकतर्फी हार चखाउँदै घरेलु टोली बंगलादेश अपराजित रहँदै पाँचौं पटक उपाधि चुम्न सफल भयो।
यसपटकको उपाधि जितेसँगै बंगलादेश अबसम्मकै सबैभन्दा धेरै पटक साफ यु-२० च्याम्पियन बन्ने टोली बनेको छ। अहिलेसम्म भारत र बंगलादेशले मात्र यो उपाधि जितेका छन्, जसमध्ये एकपटक यी दुई टोलीले संयुक्त रूपमा जितेका थिए।
नेपाल भने तेस्रोपटक उपविजेतामा सिमित रहन पुग्यो। सन् २०१८ र २०२३ मा पनि नेपाल उपाधिनजिक पुगेर बंगलादेशसँगै हार बेहोरेको थियो। नेपालले यसअघि तीनपटक तेस्रो स्थान पनि हासिल गरिसकेको छ।
खेलको सुरुवातमै बंगलादेशले काउन्टर एट्याकमार्फत अग्रता बनायो। खेलको आठौं मिनेटमा सागोरिकाले नेपालकी गोलकिपर सुजाता तामाङलाई छलाउँदै गोल गरिन्। उनी तीन खेलको निलम्बनपछि पुनः टोलीमा फर्किएकी थिइन्।
त्यसपछिका केही मिनेटमा पनि बंगलादेशले थप मौका सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। नेपालले भने पहिलो हाफभर प्रभावशाली मुभसमेत देखाउन सकेन। पहिलो हाफको अन्त्यसम्म बंगलादेश १-० को अग्रतामा रह्यो।
दोस्रो हाफमा नेपालले खेलमा फर्कनुपर्ने दबाबबीच मैदान उत्रिए पनि ५१औं मिनेटमै फेरि गोल खान पुग्यो। मुनकी अख्तरको पासमा सागोरिकाले बक्सभित्रबाट सहजै दोस्रो गोल गरिन्।
५८औं मिनेटमा सागोरिकाले ह्याट्रिक पूरा गर्दै नेपालको सम्भावनामा चोट दिइन्। उनले लामो पासलाई बक्सभित्र नियन्त्रणमा लिई भलीमार्फत गोल गरिन्।
७७औं मिनेटमा पुनः सागोरिकाकै गोलमार्फत बंगलादेशले ४–० को विशाल जित हात पार्यो। यही जितसँगै बंगलादेश अपराजित रुपमा १८ अंकसहित च्याम्पियन बन्यो।
नेपालले प्रतियोगिता अवधिभर राम्रो प्रदर्शन गरे तापनि उपाधिमा फेरि चुक्यो। नेपालले बंगलादेशविरुद्ध पहिलो खेलमा पनि ३-२ को हार बेहोरेको थियो।
श्रीलंकाविरुद्ध दुवै खेल ७-० ले तथा
भुटानविरुद्ध ६-१ र ८-० को फराकिलो जित निकालेको थियो। कुल ६ खेलमा ४ जित र २ हारसहित १२ अंक जोड्दै नेपाल दोस्रो स्थानमा रह्यो ।
प्रतियोगिताको समापनसँगै बंगलादेशको महिला फुटबलमा क्षेत्रीय प्रभुत्व अझ बलियो भएको देखिन्छ भने नेपाल उपाधिको पर्खाइ लम्बिएको छ।