Headlines

विदेश जान पैसा तिरे अब अपहरणको मुद्दा ? सप्तरीका दर्जनौं युवाको पीडादायी कथा

वैदेशिक रोजगार

 

वैदेशिक रोजगार

राजविराज, असार २८- एउटा उज्ज्वल भविष्यको सपना बोकेर हामीले लाखौं रुपैयाँ बुझायौं अब त उल्टै अपहरणको आरोप लागिरहेको छ । यो भनाइ हो सप्तरी बोदेबरसाईनका २४ वर्षीय रवीन्द्र यादवको, जो डेढ वर्षअघि विदेश जान पैसा तिरेर अहिले अपहरणको आरोपमा त्रासमा छन्।

सप्तरीको बोदेबरसाईन नगरपालिका र वरपरका गाउँका करिब एक दर्जन युवा अहिले न्यायको खोजीमा जिल्ला प्रहरी कार्यालय, राजविराज धाइरहेका छन्। उनीहरूले २५ लाख रुपैयाँभन्दा बढी एजेन्टलाई बुझाएका थिए, तर विदेश जान नपाएर उल्टै अपहरणको झुटो आरोप खेप्न बाध्य भएका छन्।

वडा २ बैरयाहीका रवीन्द्रकुमार यादवसहित १० जनाबाट विष्णुपुर गाउँपालिका–२ का महादेव साहले जनही २ लाख ६० हजार रूपैयाँ उठाए। केहीलाई भिजिट भिसामा दुबई पठाइए पनि तीन महिनामै उनीहरू जेल परेर नेपाल फर्किए। बाँकी सात जना भने अहिलेसम्म पनि न विदेश जान सकेका छन् न त पैसा फिर्ता पाएका छन्।

रवीन्द्रले भने धेरै साथीभाइले मेरो मुख हेरेर पैसा दिएका थिए। तर एजेन्ट साह दिनदिनै बहाना बनाइरहेका छन्। अहिले त झन् झुटो अपहरणको आरोपसहित उजुरी दिन थालेपछि मानसिक पीडामा परेका छौं।

गत मंगलबार रवीन्द्र यादव लगायत केही पीडितले एजेन्ट साहलाई राजविराजमा भेटे। साहले ‘गाउँ जाऊँ, पीडितसँग कुरा गरौं’ भनेपछि उनीहरू गाउँ गएका थिए। तर पीडितहरू आक्रोशित हुँदा झिनामसिना झगडा पनि भयो। त्यसपछि साहको परिवारले उल्टै अपहरणको उजुरी दिए।

डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार साहको परिवारको मौखिक उजुरीपछि रवीन्द्र यादवलाई सोधपुछका लागि फोन गरिएको हो। अपहरणको मुद्दा अहिलेसम्म दर्ता भएको छैन अनुसन्धान भइरहेको छ।

कृष्णासवरण गाउँपालिका–१ घोंघदाहाकी समतोलियादेवी रामले छोरालाई विदेश पठाउने सपना देखेर ऋण काढेर २ लाख ५० हजार एजेन्टलाई दिएकी थिइन्। ब्याज तिर्न हम्मे छ पासपोर्ट पनि फिर्ता दिएको छैन, पैसा पनि छैन उनी भन्छिन् अब त उल्टै अपहरणको झुटो मुद्दा हालेर अझ पीडित बनाइँदैछ।

यस्तै वडाध्यक्ष रामप्रसाद रामले पनि एजेन्ट साहलाई दोषी ठहर गरे। साहले जालझेल गरेर युवाहरूको भविष्यसँग खेलबाड गरेका छन् उनले भने अब झुटा उजुरी गरेर त्रास फैलाउने काम गरिरहेका छन्। प्रहरी निष्पक्ष ढंगले अनुसन्धान गरोस् भन्ने हाम्रो माग हो।

पीडितहरूले भने एजेन्टले झुटा आरोप लगाएर आफूहरूलाई सामाजिक रूपमै बदनाम गर्ने कोसिस गरिरहेको बताए। वडाका अर्का पीडित जितेन्द्र सदाले भने महाजनलाई ब्याज तिर्न सक्दैनौं, सुत्न सक्दैनौं। अब हामीमाथि अपहरणको आरोप लगाएर झन् तनाव दिइँदैछ।

सिरहाको भगवानपुर गाउँपालिका–३ का धर्मदेव यादव, शम्भुनाथ नगरपालिका–६ का इन्दल सदा, सुरेश मण्डल, शम्भुप्रसाद यादव, शिवशंकर सदा, मो. सुलेमान र कृष्ण मण्डलजस्ता दर्जन युवाहरू एजेन्ट साहबाट ठगिएका अन्य पीडित हुन्। उनीहरूले जम्मा २५ लाख रुपैयाँ बुझाएको दाबी गरेका छन्, जसमा १८ लाख ४० हजार बैंकमार्फत र ६ लाख ६० हजार नगद रहेको उनीहरूको भनाइ छ।

हाल प्रहरी अनुसन्धानकै प्रक्रियामा छ। यद्यपि, पीडितहरूलाई पुलिसले बारम्बार बोलाउने र सोधपुछ गर्ने कार्यले उनीहरूलाई झन् त्रासमा पारेको गुनासो सुनिएको छ। डीएसपी साबले फोन गरेर बोलाउनुहुन्छ, गाउँमै पुलिस आउँछ डर लाग्छ रवीन्द्र यादव भन्छन्।

कानुनी रूपमा कसले गल्ती गर्‍यो भन्ने थाहा पाउन समय लाग्न सक्छ तर यसले देखाएको सन्देश स्पष्ट छ विदेश जाने सपना लिएर ठगिने नेपालीहरूको पीडा अझै समाप्त भएको छैन।

ठगीको यो घटनाले दुई गम्भीर पक्ष उजागर गरेको छ पहिलो विदेश जानको लागि युवाहरूले कति ठूलो जोखिम लिन्छन्, दोस्रो, ठगिनेपछि उनीहरू झनै अपमान र अप्ठ्यारोमा कसरी पर्छन्। अपहरणजस्तो गम्भीर मुद्दालाई प्रयोग गरेर उल्टै पीडितलाई अपराधी बनाउने प्रवृत्तिले समाजमै त्रास फैलाएको छ।

पीडितहरूले प्रहरी प्रशासनसँग निष्पक्ष अनुसन्धानको माग गरेका छन्। स्थानीय वडाध्यक्षदेखि सामाजिक अभियन्तासम्मले सरोकारवाला निकायसँग समन्वय गरेर समाधान खोज्नुपर्ने माग उठाएका छन्।

नेपालमा वैदेशिक रोजगारीको सपना बोकेर हजारौं युवा हरेक वर्ष एजेन्टको भरमा लाखौं खर्च गर्छन्। तर यसरी एजेन्टहरूले जालझेल गर्ने, पैसा हजम गर्ने र उल्टै झुटो मुद्दामा फसाउने प्रवृत्तिले नेपाली समाजमा ठूलो समस्या खडा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *