Headlines

राप्रपामा आन्तरिक असन्तुष्टि अध्यक्ष लिङ्देनमाथि चार वरिष्ठ नेताको आरोप

राप्रपामा आन्तरिक असन्तुष्टि अध्यक्ष लिङ्देनमाथि चार वरिष्ठ नेताले आरोप लगाएको छन् ।

काठमाडौं, साउन २ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र फेरि आन्तरिक असन्तुष्टि चुलिएको छ। पार्टीका चार वरिष्ठ नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानको उल्लंघन गर्दै एकलौटी ढंगले निर्णय गरिरहेको आरोप लगाएका छन्। उनीहरूले यस्ता स्वेच्छाचारी निर्णयहरूले पार्टीलाई गम्भीर क्षति पुगेको बताएका छन्।

विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरूमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री धवल शम्शेर राणा र महामन्त्री कुन्ती शाही रहेका छन्। उनीहरूले हालै अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलाई विधान विपरीत हटाइएकोमा गम्भीर आपत्ति जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, शीर्ष नेतृत्व तहमा भएको आपसी समझदारीअनुसार सुवेदीलाई पार्टीको अनुशासन समितिमा निरन्तरता दिने सहमति थियो। अध्यक्ष लिङ्देनले बैठकमा नै “सशक्त भएर अघि बढ्नुस्” भनी समर्थन गरे पनि पछि एकलौटी ढंगले सुवेदीलाई हटाएर गलत सन्देश प्रवाह गरेको उनीहरूको आरोप छ।

भारतमा क्यान्सरको उपचारमा रहेका महामन्त्री धवल शम्शेर राणालाई कुनै पूर्वसूचना वा स्पष्टीकरण नदिई संगठन विभागको प्रमुखबाट हटाइएकोमा नेताहरूले कडा आपत्ति जनाएका छन्। त्यस्तै, पार्टीका प्रवक्ता सगुनसुन्दर लावती र संयोजित संगठन समन्वय विभागका सचिव धनसुर शाहीलाई पनि विधानको मर्म विपरीत हटाइएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “विधानको व्यवस्था अनुरूपको विधि, संख्या र सीमा नाघेर पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू थप्ने र हटाउने कार्य यसअघि पनि पटक–पटक हुँदै आएको छ। यस्ता कार्यले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउने र संगठनात्मक क्षति पुर्‍याउने खतरा बढाएको छ।

नेताहरूले स्पष्ट रूपमा भनेका छन् कि पार्टी विधानको बेवास्ता गर्दै गरिएको निर्णय कुनै हालतमा स्वीकार्य छैन र यस्तो प्रवृत्ति अब सह्य नहुने चेतावनी पनि दिएका छन्।

राजेन्द्र लिङ्देनको अध्यक्षतामा आएको परिवर्तनको सुरुवाती जोश पछिल्लो समयमा खस्कँदै गएको देखिन्छ। पार्टीको शक्तिशाली नेताहरूको असन्तुष्टि सार्वजनिकरूपमा बाहिर आउनुले नेतृत्व संकटको संकेत दिन थालेको छ।

यो स्थिति समाधान नभए र नेतृत्व पक्ष संवादमा नरहेको अवस्थामा राप्रपा फेरि विभाजनको संघारमा पुग्न सक्ने चिन्ता राजनीतिक विश्लेषकहरूले व्यक्त गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *