काठमाडौं,साउन १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पक्षमा देशभरबाट २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन गरिएको छ।
लामिछानेविरुद्ध ‘राज्यले राजनीतिक प्रतिशोध साँधेको’ आरोप लगाउँदै रास्वपाले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको हो।
पार्टीका सचिवालय सदस्य प्रमोद न्यौपानेका अनुसार एक महिनायता चलाइएको अभियानमा २७,५०,६७७ जनाको हस्ताक्षर प्राप्त भइसकेको छ। उनी भन्छन्, प्रदेशगत रूपमा हेर्दा बागमतीमा सबैभन्दा धेरै ७ लाख १३ हजार ३३१ हस्ताक्षर प्राप्त भएका छन्।
सातै प्रदेशबाट हस्ताक्षर यस्तो छन्:
कोशी : २ लाख १३ हजार १०६
मधेस : १ लाख ४ हजार ३६०
बागमती : ७ लाख १३ हजार ३३१
गण्डकी : ५ लाख १२ हजार १९४
लुम्बिनी : २ लाख ५२ हजार ४३१
कर्णाली : ७२ हजार १४२
सुदूरपश्चिम : १ लाख १० हजार ५१२
यसबाहेक, पार्टी मुख्यालय वनस्थलीमै उपस्थित भई हस्ताक्षर गर्ने संख्या ३६ हजार ५१० रहेको छ। काठमाडौंका विभिन्न स्थानमा राखिएका बुथहरूबाट ७४ हजार ११३ हस्ताक्षर प्राप्त भएका छन्।
न्यौपानेका अनुसार डिजिटल माध्यमहरूबाट पनि उल्लेखनीय समर्थन प्राप्त भएको छ। ह्वाट्सएपमार्फत ७ लाख ५५२ र इमेलमार्फत ८३ हजार ५६६ हस्ताक्षर प्राप्त भएका छन्।
रास्वपाले सभापति लामिछानेलाई थुनामा पठाइनुलाई ‘राजनीतिक षड्यन्त्र’ भन्दै विरोध जनाइरहेको छ। पार्टीले यसलाई ‘राज्य संयन्त्रको प्रतिशोध’ भन्दै जनता समक्ष लैजाने रणनीति अपनाएको बताउँदै आएको छ।
रास्वपाले हस्ताक्षर सङ्कलन अभियान आफ्ना तेस्रो स्थापना दिवस (असार ७) को अवसरमा औपचारिक रूपमा सुरु गरेको थियो। रवि लामिछानेले त्यस अवसरमा जनसमर्थनको प्रमाणस्वरूप यो अभियान घोषणा गरेका थिए।
पार्टीका अनुसार अहिले पनि केही विवरण अद्यावधिक हुन बाँकी छन्। तर प्रारम्भिक नतिजा नै जनतामाझ लामिछानेप्रति उल्लेखनीय समर्थन रहेको प्रमाणित गर्ने उनीहरूको दाबी छ।