काठमाडौं – दायाँ हाते स्पिनर युवराज खत्री नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा कर्णाली याक्समा आबद्ध भएका छन्। क्याटगोरी ‘बी’ का खेलाडी युवराजलाई १० लाख रुपैयाँमा कर्णालीले टिममा भित्र्याएको हो।
एनपीएलको मिनी अक्सनमा युवराजका लागि पाँच टिम— लुम्बिनी लायन्स, चितवन राइनोज, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले अधिकतम १० लाख रुपैयाँको बोली लगाएका थिए। प्रतिस्पर्धा बराबरी भएपछि उनी लक्की ड्रमार्फत कर्णाली याक्सको पोल्टामा परेका हुन्।
स्पिनर युवराज खत्री
युवराजको स्पिन बलिङ क्षमताले कर्णाली याक्सको बलिङ आक्रमणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। यसअघि उनले घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।
प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।
प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।
प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।
प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।