मध्यपूर्व संकटको उतारचढाव: २४ घण्टामा कसरी युद्धविरामसम्म पुग्यो
काठमाडौं दैनिक- असार १०, २०८२
१३ जुन २०२५ बाट सुरु भएको इजरायल–ईरान तनावले केही दिनमै खतरनाक मोड लियो। इजरायलले ईरानका सैन्य र आणविक संरचनाहरूमा आक्रमण गर्यो, ईरानी मिसाइलहरूले इजरायली रक्षा प्रणाली भेद गरे, अनि अमेरिकाले पनि तेहरानको आणविक कार्यक्रममाथि प्रहार गर्यो। यिनै घटनाहरूले मध्यपूर्वमा स्थिति भयावह बनाइरहेको थियो।
तर, सोमबार बिहानदेखि सुरु भएको २४ घण्टाको चक्रमा परिस्थिती फेरिंदै गयो—अमेरिकी सैन्य आधारमाथि हमला, इजरायल–ईरान युद्धविराम वार्ता र राष्ट्रपति ट्रम्पको चर्को अभिव्यक्तिहरूले यो क्षेत्रलाई युद्धबाट वार्तामा ल्याएको छ ।
के भएको थियो ?
सोमबार बिहान ७ बजे वाशिंगटन (१२ बजे लन्डन, २ बजे तेलअविव, २:३० बजे तेहरान), अमेरिकाले कतारमा रहेका आफ्ना नागरिकहरूलाई ‘Shelter in place’ – घरभित्र सुरक्षित रहन आग्रह गर्यो। बेलायतले पनि यस्तै सन्देश जारी गर्यो।
किनभने कतारको दोहाबाहिर रहेको अल-उदेद अमेरिकी सैन्य बेस जहाँ हजारौं अमेरिकी सैनिकहरू छन् इरानी प्रतिशोधको सम्भावित लक्ष्य बन्न सक्थ्यो। तेहरानले तीन वटा आणविक स्थापनामाथि अमेरिकी हमलाको बदला लिने चेतावनी दिएको थियो। यो आधार हमला गर्नसक्ने स्थान अमेरिकी मध्यपूर्व संचालनको केन्द्र हो।
सायद सबभन्दा ठूलो संकेत दिउँसो १२ बजे (वाशिंगटन समय) आएको थियो जब कतार सरकारले आफ्ना हवाई आकाश बन्द गर्ने घोषणा गर्यो। दोहामा रहेका विमानहरू आकस्मिक रूपमा अन्यत्र डाइभर्ट हुन थाले। अमेरिकी सञ्चार माध्यमहरूमा खबर फैलियो कि ईरानले मिसाइल लञ्चरहरू कतारतर्फ लक्षित गरिरहेको छ।
बेलायत, अमेरिका र कतारको रक्षा संयन्त्र उच्च सतर्कतामा पुग्यो। बेलायतले एयर डिफेन्स तयारी गर्यो। दोहाको आकाशमा आकाशे सुरक्षाले ईरानी मिसाइलहरूलाई रोक्न प्रयास गर्यो।
तेहरान समय अनुसार साँझ ८:३० बजेतिर, इरानी राज्य सञ्चालित मिडियाले अमेरिकामाथि प्रतिशोध सुरु भएको घोषणा गर्यो। क्रान्तिकारी गार्ड्सले भन्यो कि अमेरिकाका आधारहरू शक्ति होइन कमजोरी हुन्। तर हमला छोटो रह्यो।
कतार सरकारले तत्काल प्रतिक्रिया दिँदै आक्रोश व्यक्त गर्यो र आफ्नो देशमा हमला भएको बतायो। तर उसले यो पनि स्पष्ट गर्यो कि सबै मिसाइलहरू रोकिएको थियो मानवीय क्षति शून्य थियो।
यस हमलालाई केही विश्लेषकहरूले अनपेक्षित रूपमा सीमित मानेको भएपनी इरानले आफ्नो जनतालाई देखाउन प्रतिशोध गर्यो तर अमेरिका वा इजरायलसँग खुला युद्धमा नजाने रणनीति अपनायो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साँझ ४ बजे ट्वीट गर्दै इरानी हमलालाई “कमजोर र अपेक्षित” भने र उनले धन्यवाद दिँदै भने हामीलाई पहिले नै जानकारी दिइएको थियो। सायद अब ईरान शान्तिपूर्ण मार्गमा जान सक्छ र म इजरायललाई पनि त्यसै गर्न प्रोत्साहित गर्छु ।
यो विश्वको लागि आश्चर्यजनक थियो। दुई दिनअघि इरानमाथि आक्रमण आदेश दिने व्यक्ति अब शान्तिको सन्देश दिँदै थिए। उनले अन्तिममा लेखे, “CONGRATULATIONS WORLD, IT’S TIME FOR PEACE”
राति ६ बजेदेखि (वाशिंगटन समय) वाशिंगटन, तेहरान, तेलअविव र दोहाबीच गोप्य वार्ता सुरु भयो। ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुसँग सिधा कुरा गरे। उपराष्ट्रपति जेडी भान्स र मुख्य वार्ताकार स्टीव विटकोफले इरानी अधिकारीहरूसँग सम्पर्क गरे।
रातभर वार्ताको चहलपहलपछि, बिहान ११ बजे ट्रम्पले पुनः सामाजिक सञ्जालमा घोषणा गरे “CONGRATULATIONS TO EVERYONE”
उहाँले लेखे इजरायल–ईरानबीच पूर्ण युद्धविरामको सहमति भएको छ। “१२ DAY WAR” (१२ दिनको युद्ध) भनेर यसलाई नाम दिइयो।
तर शान्ति लागू हुनुअघि नै हमलाहरू भइरहे। तेहरान समय अनुसार बिहान ५:३० बजे इजरायलको बीरशेभा शहरमा ईरानी मिसाइलले आवासीय भवनमा प्रहार गर्यो जसमा चार जनाको मृत्यु भएको बताएको छ ।
तेहरानको उत्तरमा इजरायली हमलाले आणविक वैज्ञानिक मोहम्मद रेजा सदीकी साबेरीसहित नौजनाको ज्यान लियो। ईरानले इजरायलमाथि युद्धविराम लागू हुनु अघि अन्तिम मिसाइल वर्षा गरेको आरोप लगायो।
तेहरान समय बिहान ८:३० बजे ट्रम्पले सामाजिक सञ्जालमा घोषणा गरे: “THE CEASEFIRE IS NOW IN EFFECT. PLEASE DO NOT VIOLATE IT!”
इजरायल सरकारले पनि युद्धविराम स्वीकार गर्यो। इरानी विदेशमन्त्रीले भने यदि इजरायलले आक्रमण रोकेको छ भने हामी पनि रोक्छौं।
तर तुरुन्तै इजरायलले आरोप लगायो कि ईरानले फेरि मिसाइल प्रक्षेपण गरेको छ। इजरायली रक्षामन्त्रीले भने तेहरानमाथि गम्भीर प्रहार गरिनेछ।
ट्रम्पले फेरि हस्तक्षेप गर्दै लेखे: “DO NOT DROP THOSE BOMBS. BRING YOUR PILOTS HOME, NOW!”
वाशिंगटनमा बिहान ७ बजे ट्रम्प नाटो सम्मेलन जान हेलिकप्टर चढ्दै थिए। पत्रकारहरूसँग बोल्दै उनले भने (ईरान र इजरायल) दुबैले युद्धविराम उल्लंघन गरेका छन् तर सम्झौता अझै जिवित छ उनले भने ।
इजरायल र ईरानप्रति आक्रोश पोख्दै उनले भने यी मान्छेहरू यति लामो समयदेखि लडिरहेका छन् कि अब आफैलाई थाहा छैन के गर्दैछन्।
हेलिकप्टरमार्फत म्यारिल्याण्ड पुगेपछि उनले नेतन्याहुलाई फोन गरे जुन संवाद निकै तनावपूर्ण भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। ट्रम्पले इजरायली हमला तत्काल रोक्न निर्देशन दिएका थिए।
यो युद्ध विराम अस्थायी शान्ति वा स्थायी समाधान?
युद्धको अत्यन्त संवेदनशील मोडबाट वार्तातर्फ फर्किएको यो घटनाक्रमले संसारलाई एकै पटक सास रोकेर हेर्न बाध्य बनायो। यो युद्धविराम कति समय टिक्ला भन्न सकिन्न तर यसले तत्कालीन मानवीय क्षति टार्न भने भुमिका खेलेको छ ।
मध्यपूर्वमा शान्ति स्थापनाको प्रयास सधैंजसो अल्पकालीन रहँदै आएको छ। तर, अहिलेको अवस्थामा अमेरिका, ईरान र इजरायलले संयमता देखाउने हो भने यो युद्धविरामले दीर्घकालीन समाधानको ढोका खोल्न सक्छ। ट्रम्पको कूटनीति खतरनाक देखिए पनि तत्कालका लागि त्यो निर्णायक सावित भयो।
सम्पादकीय टिप्पणी:
युद्ध कहिल्यै समाधान होइन। शान्ति नै विकासको आधार हो। इरान र इजरायल दुबैले युद्धले होइन, वार्ताले मात्र आफ्नो अस्तित्व सुरक्षित गर्न सक्छन्। र यसैमा सारा विश्वको जीत हुनेछ।
काठमाडौं दैनिक : उपसना पौडेल