साउन २५, २०८२। एजेन्सी
काठमाडौं – बार्सिलोनाका युवा स्टार लामिन यामल र वरिष्ठ स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई युइएफएले जनही ५ हजार युरो जरिवाना गरेको छ। उनीहरूले एन्टि–डोपिङ नियमको उल्लङ्घन गरेको आरोपमा यो सजाय पाएका हुन्।
यो घटना इटालीमा सम्पन्न च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानविरुद्धको खेलपछि भएको हो। अतिरिक्त समयमा ४-३ ले पराजित भएको उक्त खेलपछि दुवै खेलाडीले डोपिङ कन्ट्रोल अफिसरको निर्देशन अनुसार तुरुन्तै डोपिङ परीक्षणका लागि उपस्थित नभएको युइएफएले जनाएको छ।
खेलाडी मात्र नभई प्रशिक्षक हान्सी फ्लिकमाथि पनि कारबाही भएको छ। फ्लिकलाई युइएफए क्लब प्रतियोगिताबाट एक खेलको निलम्बन र २० हजार युरो जरिवाना गरिएको छ। उनीमाथि आचरणका सामान्य सिद्धान्त र शिष्टाचारका आधारभूत नियम उल्लङ्घनको आरोप छ।
फ्लिकका सहायक प्रशिक्षक मार्कस सर्गलाई पनि उस्तै सजाय दिइएको छ, जसका कारण बार्सिलोना बेन्चमा उनीहरूको अनुपस्थिति आगामी युरोपेली खेलमा रहनेछ।