काठमाडौं – नेपाली महिला राष्ट्रिय भलिबल टिमको जर्सी प्रायोजनका लागि नेपाल भलिबल संघ (NVA) ले आवेदन खुला गरेको छ। संघले सार्वजनिक सूचना जारी गर्दै इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई निर्धारित म्यादभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको हो।
प्रायोजनमा इच्छुक संस्था, कम्पनी वा फर्महरूले आवश्यक कागजातसहितको आवेदन २०७९ भदौ १५ गते साँझ ५ बजेसम्म संघको त्रिपुरेश्वरस्थित कार्यालय वा संघको आधिकारिक इमेल ठेगाना मार्फत बुझाउनु पर्नेछ।
संघले प्राप्त आवेदनहरू स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार आफ्नो हुने स्पष्ट गरेको छ।
पछिल्लो समय नेपाली महिला भलिबल टिमले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। टिमले आउँदो नोभेम्बरमा काभा वुमन्स नेसन्स लिग घरेलु मैदानमै खेल्ने तयारी गरिरहेको छ। यस सन्दर्भमा भलिबल संघले जर्सी प्रायोजनमार्फत टिमको थप सशक्तिकरण र ब्रान्ड साझेदारीको अवसर प्रदान गर्न खोजेको छ।
काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्सले ऐतिहासिक प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको कीर्तिमानी स्कोर बनाएको थियो।
यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो। विगत वर्ष लुम्बिनी लायन्सविरुद्ध १ सय ९३ रन बनाएको कीर्तिमानलाई विराटनगरले यसपटक सहजै उछिनेको छ।
पहिलो विकेटका लागि जर्ज मुन्सी १० रनमै आउट भएपछि लोकेश बम र मार्टिन गप्टिलले पोखराका बलरहरूलाई खुला मैदानमा आक्रमण गरे। दुवैले दोस्रो विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट साझेदारी बनाए, जुन एनपीएल इतिहासकै दोस्रो उच्च साझेदारी हो।
२ सय २१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पोखराका ओपनर दिनेश खरेल ७ रनमै आउट भए। तर कप्तान कुशल भुर्तेल उत्कृष्ट फर्ममा रहे—३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रन बनाए ।
भुर्तेलसँग एडम रोसिङटन ले ३९ रनको योगदान दिंदै ७६ रनको साझेदारी गरे। तर सन्दीप लामिछानेले एकै ओभरमा जिम्मी निसम र तृतराज दासलाई आउट गरेपछि पोखराको आशा निराशामा बद्लिएको हो ।
लगातार आउट हुँदा टोली १८.५ ओभरमै १६७ रनमा अलआउट भयो। अन्तिमतिर ड्यान डाउथवेटले २० बलमा २९ रन बनाए पनि त्यो टोलीलाई जोगाउन पर्याप्त भएन।
कीर्तिमानी २२० रनको विशाल स्कोर, आक्रामक ब्याटिङ प्रदर्शन र उत्कृष्ट बलिङको संयोजनले विराटनगर किंग्सलाई एनपीएलमा शानदार जित दिलायो। यस जितसँगै विराटनगरले प्रतियोगितामा बलियो दाबी पेश गरेको छ।