महिला फुटबल टोलीको मुख्य प्रशिक्षक डे वाइल्डले दिए राजीनामा दिएका छन्।
काठमाडौं, साउन ३ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। बेल्जियमका डे वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै प्रशिक्षण जिम्मेवारीबाट हट्ने निर्णय लिएका हुन्। उनले नियुक्ति पाएको एक महिनामै पदत्याग गरेका हुन्।
उनी नेतृत्वमा रहेको नेपाली टोली एसियन कप छनोट खेलका लागि उज्वेकिस्तान गएका बेला कप्तान चयनको विषयमा संघ र प्रशिक्षकबीच विवाद चुलिएको थियो। यही विवाद पछि उत्पन्न तनावको कारण डे वाइल्डको नेपाल फर्कने सम्भावना कमजोर बनेको चर्चा थियो। अन्ततः उनले औपचारिक रूपमा राजीनामा दिएका छन्।
उज्वेकिस्तानमा लाओसविरुद्धको खेलका बेला डे वाइल्डले स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’लाई कप्तान बनाउने निर्णय गरेका थिए। तर व्यवस्थापन पक्षले खेल सुरु हुनु ९० मिनेटअघि मात्र प्रशिक्षकबाट जानकारी पाएको दाबी गर्दै सिनियर खेलाडी रेनुका नगरकोटीलाई कप्तानका रूपमा सूचीकृत गरेको थियो।
यही घटनाले टोलीमा गम्भीर असमझदारी र द्वन्द्वको स्थिति सिर्जना गर्यो।
खेलपछि फर्केका टोली पदाधिकारी – हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, व्यवस्थापक विन्द्रा देवान, सहायक प्रशिक्षक राजेन्द्र तामाङलगायतले संयुक्त पत्रकार सम्मेलन गर्दै उज्वेकिस्तानमा उत्पन्न समस्याको सम्पूर्ण जिम्मेवारी प्रशिक्षक डे वाइल्डको भएको आरोप लगाए।
पत्रकार सम्मेलनको केही दिनपछि एन्फाले डे वाइल्डलाई स्पष्टीकरण सोध्दै एक हप्ताभित्र नेपाल फर्किने वा नफर्किने स्पष्ट जवाफ दिन निर्देशन दिएको थियो। स्रोतका अनुसार उनले पत्र प्राप्त भएको एक साता पनि नपुग्दै राजीनामा पत्र बुझाएका हुन्।
‘एन्फाको व्यवस्थापन कमजोर छ, खेलाडीहरूमा अनावश्यक दबाब छ,’ डे वाइल्डले कान्तिपुर र द काठमाडौं पोस्टलाई दिएको अन्तर्वार्तामा भनेका थिए। उनले उज्वेकिस्तानसँगको पेनाल्टी सुटआउटका क्रममा केही खेलाडीले दबाबका कारण पेनाल्टी हान्न मानेनन् भन्ने आरोप पनि लगाएका थिए।
डे वाइल्डको प्रशिक्षणमा नेपालले तीन अन्तर्राष्ट्रिय खेल खेलेको थियो। तीमध्ये नेपालले दुई खेलमा विजय हासिल गर्दा एक खेल बराबरीमा टुंगिएको थियो। लाओस र श्रीलंकालाई हराएको नेपाल उज्वेकिस्तानसँग ३-३ को बराबरीमा रोकिएको थियो। यद्यपि एसियन कपको फाइनल चरणका लागि निर्णायक मानिएको पेनाल्टी सुटआउटमा नेपाल पराजित भएको थियो।
उनी नेपाली महिला टोलीलाई प्रशिक्षण दिने पहिलो प्रो लाइसेन्स प्राप्त प्रशिक्षक थिए। एन्फासँग उनले एक वर्षको सम्झौता गरेका थिए, तर एक महिनामै कार्यकाल टुंगिएको हो।
डे वाइल्डको राजीनामाले नेपाली महिला फुटबल टोली पुनः नेतृत्वविहीन अवस्थामा पुगेको छ। आगामी प्रतियोगिताका लागि तयारीको चरणमा रहेका खेलाडीहरू र व्यवस्थापनबीच समन्वय आवश्यक देखिएको छ।
यस प्रकरणले नेपाली फुटबलको प्रशासनिक कमजोरी, खेलाडी व्यवस्थापन र निर्णय प्रक्रियाको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।