साउन २३, २०८२।
काठमाडौं – भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा जारी एएफसी यू–२० महिला एशियन कप छनोट प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । समूह ‘बी’ अन्तर्गत नेपालले साउदी अरेबियाविरुद्ध दिउँसो पौने २ बजे प्रतिस्पर्धा गर्नेछ।
नेपालले पहिलो खेलमा आयोजक भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । पहिलो हाफमै अग्रता लिए पनि अन्तिमतिर गोल खाएर अंक बाँड्नु परेको हो । यस नतिजाले नेपाललाई समूहविजेता बन्ने यात्रामा अलि चुनौती थपिएको छ, किनकि बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग अझै खेल्न बाँकी छ।
साउदी अरेबियाले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० को ठूलो हार बेहोरेको छ । त्यसैले आजको खेलमा उनीहरू पनि पहिलो अंकको खोजीमा मैदान उत्रनेछन्।
प्रतियोगितामा हरेक समूहको विजेता सिधै एशियन कपका लागि छनोट हुनेछ भने तीनै समूहका बीचबाट उत्कृष्ट दुई उपविजेताले पनि अवसर पाउनेछन् । त्यसैले नेपालका लागि आजको खेल जित्नु अत्यन्तै महत्वपूर्ण मानिएको छ।