Headlines

भियतनाम अरबपतीको मृत्युदण्ड हट्यो

भियतनामी कुबेरको मृत्युदण्ड सजाय हट्यो, अब जन्मकैद

काठमाडौं दैनिक – असार १२, २०८२

हनोई, भियतनाम – देशकै सबैभन्दा ठूलो बैंक घोटालामध्ये एकमा संलग्न भनी दोषी ठहर गरिएकी चर्चित अर्बपति व्यवसायी त्रुओङ मी ल्यन अब मृत्युदण्डबाट मुक्त भएकी छन्। भियतनाम सरकारले बुधबार एउटा ऐतिहासिक निर्णय गर्दै भ्रष्टाचार, भ्रष्ट आचरण, जासुसीजस्ता ८ वटा अपराधमा अब मृत्युदण्ड लागू नहुने घोषणा गरेको हो।

त्रुओङ मी ल्यन जो रियल स्टेट कम्पनी भान थिन फाट ग्रुप की अध्यक्ष हुन् उनकै नेतृत्वमा सैगोन कमर्सियल बैंकबाट करिब १२.५ अर्ब अमेरिकी डलर बराबरको रकम हिनामिना गरिएको पाइएको थियो। यहि मुद्दाको अपराधमा उनलाई २०२४ मा मृत्युदण्ड सुनाइएको थियो।

तर नयाँ कानूनी परिमार्जनपछि अब उनको सजाय जन्मकैदमा रूपान्तरण गरिने उनको वकिलले पुष्टि गरेका छन्।

भियतनामको राष्ट्रिय सभाले पारित गरेको नयाँ कानुनी संशोधनअनुसार अब देशमा निम्न ८ प्रकारका गम्भीर अपराधमा पनि मृत्युदण्ड दिइने छैन ।

भ्रष्टाचार, धन हिनामिना (embezzlement), घूस लिने र दिने कार्य, जासुसी, सरकार विरुद्ध षड्यन्त्र, विद्रोह, आन्तरिक सुरक्षाविरुद्धको योजना, राज्य सत्तामाथि कब्जाको प्रयास लगायतका विषय रहेका छन् ।

त्रुओङ मी ल्यनले आफ्नो प्रभाव र पहुँच प्रयोग गरी सैगोन कमर्सियल बैंकबाट लामो समयसम्म ठूलो रकम निकाल्दै बैंकको संरचना नै खल्बल्याएको आरोप लागेको थियो। यस केसमा दर्जनौं बैंक कर्मचारी र सरकारी अधिकारीसमेत संलग्न रहेका थिए।

बैंक घोटालामा संलग्नता मात्र नभएर उनले अनेक सरकारी अधिकारीहरूलाई घूस दिएको पनि पुष्टि भएको थियो। यसै आधारमा उनलाई मृत्युदण्डको सजाय दिइएको थियो।

त्रुओङ मी ल्यनको मृत्युदण्ड हटाउने निर्णयलाई केही विश्लेषकहरूले राजनीतिक रणनीतिका रूपमा पनि हेरेका छन्। भियतनाम सरकारले भ्रष्टाचारविरुद्ध कडा नीति अवलम्बन गरिरहेको भए पनि, मृत्युदण्डको विकल्प खोजिनु मानवअधिकार र अन्तर्राष्ट्रिय छविको दृष्टिले गरिएको हुनसक्ने उनीहरूको तर्क छ।

भियतनामसँग सम्बन्धित अर्को चर्चित समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेशनले भियतनामको हो ची मिन सिटीको थु थिएम क्षेत्रमा भव्य परियोजना सुरु गर्ने योजना बनाइरहेको खुलासा भएको छ।

उनको छोरा एरिक ट्रम्प गत महिना स्थल अवलोकन गर्न भियतनाम पुगेका थिए। अनुमानअनुसार, प्रस्तावित ६०-तले ट्रम्प टावर निर्माणमा १ अर्ब अमेरिकी डलर बराबरको लगानी हुने छ।

त्रुओङ मी ल्यनको जन्मकैदको सजायले भियतनाममा न्यायिक प्रणालीमा नयाँ बहस ल्याएको छ। सँगै ट्रम्प समूहको सम्भावित लगानीले देशको आर्थिक दृष्यलाई नयाँ मोडमा लैजाने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *