Headlines

भण्डारी र ओलीबीच दुई घण्टा भेटवार्ता भण्डारीले भनिन् म पछि हट्दिन

भण्डारी र ओलीबीच दुई घण्टा भेटवार्ता भण्डारीले भनिन् म पछि हट्दिन तपाईं आफ्नो निर्णय गर्नुहोस् ।

काठमाडौँ, साउन ५ – पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्या भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार झन्डै दुई घण्टा लामो ‘वान टु वान’ वार्ता भएको छ। एमालेको च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न यो भेटवार्ताले भण्डारीको पार्टीभित्रको सक्रियता र भविष्यको भूमिकासम्बन्धी बहसलाई थप बल दिएको छ।

वार्तामा पूर्व राष्ट्रपति भण्डारीले आफू पहिले नै पार्टी कार्यालय आउन थालेको र पार्टीभित्र पुनः सक्रिय हुने संकेत दिएकी छन्। “म अघि बढेको छु, अरूको इच्छा भए सोहीअनुसार कुरा हुन्छ तर म पछि हट्दिन।

ओलीले भने भण्डारीको आगमनलाई स्वागत गर्दै पार्टी कार्यालयमा आउन नरोकेको जवाफ दिएका थिए। उनले भने “तपाईंलाई पार्टी कार्यालयमा स्वागत छ।”

हालै एमालेभित्र भण्डारीको सदस्यता नवीकरणबारे उठेका प्रश्नप्रति भण्डारीले दुई वर्षअघि नै नवीकरण गरिसकेको दाबी गरिन्। उनले ओलीलाई जानकारी दिएर काशीनाथ अधिकारीमार्फत सदस्यता नवीकरणका लागि भेषराज अधिकारीलाई पठाएको स्मरण गराउँदै, “सदस्यता नवीकरण भइसकेको छ, अहिले किन प्रश्न उठाइयो? भनेर प्रश्न गरिन्।

ओलीले भने पूर्वराष्ट्रपति भएकाले विषय पार्टीमा छलफल गर्नुपर्‍यो सदस्यता स्वयंमा समस्या होइन भन्ने प्रतिक्रिया दिएका थिए।

भण्डारीले पछिल्ला दिनमा सञ्चारमाध्यममा आफूविरुद्ध गरिएको प्रचारप्रति असन्तुष्टि जनाउँदै, मिडिया ट्रायल गर्नु आवश्यक नरहेको गुनासो गरेकी थिइन्।

भेटपछिको संक्षिप्त संवादमा भण्डारीले पार्टीमा सक्रिय भएसँगै कार्यकर्ता भेटघाट र देशव्यापी गतिविधिहरू सञ्चालन गर्ने योजना रहेको बताइन्। पार्टी बलियो बनाउने उद्देश्यले आफू अघि बढेको र अध्यक्षविरुद्ध कुनै व्यक्तिगत एजेण्डा नरहेको पनि स्पष्ट पारिन्।

उनले भनिन् व्यक्तिगत विषयहरू उठिरहेका छन्, केही अलोकप्रिय भनाइ आएका छन्। पार्टी कमजोर बन्नु हुँदैन।
म अघि बढिसकेको छु, तपाईं आफ्नो निर्णय गर्नुस्।

एमाले उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको भूमिकाबारे पार्टी बैठकले टुंगो लगाउने जानकारी दिए। एमाले नेता कर्ण थापाले भने ओली–भण्डारी भेटलाई “सकारात्मक संकेत”का रूपमा व्याख्या गरे। एमालेको विधान अधिवेशनको तयारीस्वरूप सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा पनि भण्डारीको भूमिकाबारे छलफल हुने नेताहरूले जनाएका छन्।

प्रधानमन्त्री ओलीले आइतबारकै मन्त्रिपरिषद बैठकमा भण्डारीसँगको वार्ताबारे पनि जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *