मंसिर ३, २०८२। काठमाडौं दैनिक संवाददाता

काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका दीर्घकालीन लक–इनमा रहेका करिब २० लाख सेयर आगामी पुस १ गतेदेखि अनलक हुँदैछन्। लक–इन अवधि सकिएसँगै संस्थापक, कर्मचारी र प्रभावित स्थानीयका हातमा रहेका सेयर बजारमा कारोबारयोग्य बन्नेछन्।
कम्पनीका अनुसार कुल १९ लाख ५७ हजार ८० कित्ता सेयर अनलक हुनेछन्। समूहगत विवरण यसप्रकार छ।
संस्थापक समूह : १८ लाख कित्ता
कर्मचारी : ११ हजार ८० कित्ता
आयोजना प्रभावित स्थानीय : १ लाख ४६ हजार कित्ता
यी सबै सेयर पुस १ गतेदेखि दोस्रो बजारमा कारोबार योग्य हुनेछन्, जसले बजारमा तरलता विस्तारसँगै शेयर आपूर्तिमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।
नेपाल धितोपत्र बोर्डमा बाराही हाइड्रोपावरका कुल २५ लाख कित्ता सेयर दर्ता छन्। कम्पनीले २०७९ मंसिर २१ देखि २८ सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।
उक्त आईपीओको बाँडफाँड २०७९ पुस ३ गते सम्पन्न भएको थियो, जसअनुसार सर्वसाधारणका लगानीकर्ताले सेयर प्राप्त गरेका थिए। बजार विश्लेषकहरूका अनुसार संस्थापक समूहका ठूलो परिमाणका सेयर अनलक हुँदा आपूर्ति बढ्ने सम्भावना रहन्छ। तर वास्तविक प्रभाव भने बजारको माग, बजार वातावरण र संस्थापकहरूको सेयर होल्ड गर्ने रणनीतिमा निर्भर हुने बताइएको छ।
लक–इन समाप्तिको जानकारी सेयर मूल्य उतार–चढावमा प्रभाव पार्न सक्ने भएकाले लगानीकर्तालाई तथ्यांक र बजार अवस्थाको अध्ययन गरेर मात्रै निर्णय लिन विज्ञहरुले सुझाव दिएका छन् ।









