काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेश विरुद्ध आगामी दुई मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस बारे जानकारी दिएको छ।
नेपालले सेप्टेम्बर ६ र ९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ। प्रशिक्षक रसले टोली छनोटका लागि ट्रायलसमेत गरेका थिए र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रशिक्षणमा बोलाएका हुन्।
प्रारम्भिक टोलीमा रहेका खेलाडीहरूले आगामी अभ्यास र प्रशिक्षण सत्रमा सहभागी भई फाइनल टोलीमा छनोटका लागि तयारी गर्नेछन्।
काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।
प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।
प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।
प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।
प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।