असार २६, २०८२ काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को आगमी सिजनमा राजधानीको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोली ‘काठमाण्डु गोर्खाज’ ले आफ्नो मुख्य प्रशिक्षकमा फेरि एकपटक मोन्टी देसाईलाई नियुक्त गरेको छ। नेपाल क्रिकेटमा ऐतिहासिक सफलताका पानाहरु लेखाएका मोन्टीको पुनरागमनसँगै नेपाली क्रिकेट प्रेमीहरुको मनमा नयाँ आशा पलाएको छ।
काठमाण्डु स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको ‘काठमाण्डु गोर्खाज’ ले असार २६ गते, समाजिक सञ्जालमार्फत मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गरिएको जानकारी सार्वजनिक गर्यो। क्लबका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीका अनुसार मोन्टी देसाईसँगको पुनर्मिलन केवल रणनीतिक निर्णय मात्र होइन नेपाली क्रिकेटप्रतिको एक विश्वासपूर्ण निर्णय पनि हो।
गुरु पूर्णिमाको दिन हामीले असल गुरु पाएका छौं, गोर्खाजका सीईओ ठकुरीले भने मोन्टीले नेपाली क्रिकेटको माटो, खेलाडी, र दर्शक सबैलाई बुझेका छन्। उनी सपनाको योजना बनाउँछन् हामी उनलाई त्यसका लागि पुनः बोलाएका हौं।
सन् २०२३ को फेब्रुअरीदेखि दुई वर्षसम्म नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षकको रुपमा कार्यभार सम्हालेका मोन्टी देसाईको नेतृत्वमा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। उनले प्रशिक्षक बनेपछि नेपालले विश्वकप लिग-२ अन्तर्गत खेलेका १२ मध्ये ११ खेलमा विजय हासिल गर्दै २०२३ को एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो।
त्यसै समय नेपालले पहिलो पटक एसिया कप मा भाग लिन पाएको थियो। यति मात्र होइन, १० वर्षको अन्तरालपछि नेपाल टी–२० विश्वकप मा पुनः प्रवेश गर्न सफल भएको थियो। यी सबै उपलब्धिहरू मोन्टीको रणनीतिक सोच र नेतृत्व क्षमताको परिणाम मानिन्छ।
फेरि नेपाल फर्कँदा मोन्टीले भने “यो मेरो घर हो”
मोन्टीले एनपीएलको सिजनको लागि काठमाडौं गोर्खाजसँग पुनः आबद्ध हुनुलाई एक अवसर मात्र होइन यात्राको निरन्तरता भनेका छन्। गोर्खाजको प्रेस विज्ञप्तिमा उनले
नेपाल सधैं मेरो लागि घरजस्तै लाग्ने ठाउँ हो। यहाँका जनताको भावना, क्रिकेटप्रतिको समर्पण र देशको क्रिकेट संस्कृतिले मलाई गहिरो सम्बन्ध बनाएको छ। यो पुनरागमन मेरो लागि विशेष छ।
क्लबले मोन्टीसँगको सहकार्यलाई उपाधि जित्ने मुख्य आधारको रुपमा हेरेको छ। ठकुरी भन्छन् मोन्टीको अनुभव, नेतृत्व क्षमता र नेपाली खेलाडीहरूसँगको आत्मीयता हामीलाई यसपटक उपाधि नजिक पुर्याउने विश्वास छ।
एनपीएलको प्रतिस्पर्धा प्रत्येक वर्ष झन् रोमाञ्चक र चुनौतीपूर्ण बन्दै गइरहेको सन्दर्भमा अनुभवी प्रशिक्षकको उपस्थितिले गोर्खाजलाई प्रतिस्पर्धी बनाउने देखिएको छ।
को हुन मोन्टी देसाई ?
भारतमा जन्मिएका मोन्टी देसाई क्रिकेट प्रशिक्षण क्षेत्रमा व्यापक अनुभव भएका कोच हुन्। उनले विगतमा अफगानिस्तान, वेस्ट इन्डिज, यूएई लगायत देशको टिमसँग काम गरिसकेका छन्। उनी न केवल रणनीतिक सोच राख्ने प्रशिक्षक हुन्, तर युवापुस्ताको मनोविज्ञान बुझ्नसक्ने व्यक्तित्वका रुपमा चिनिन्छन्।
उनले नेपाली टिमका धेरै खेलाडीहरूको करियरमा सकारात्मक परिवर्तन ल्याएका छन्। खेलाडीहरूसँग संवाद गर्ने शैली, व्यक्तिगत ध्यान र आत्मविश्वास बढाउने कार्यशैलीले उनलाई मनपर्ने प्रशिक्षक बनाएको छ।
ठकुरीका अनुसार मोन्टीसँगको सहकार्य केवल व्यावसायिक सम्झौता होइन “इमोशनल कन्ट्र्याक्ट” हो। उहाँले आफ्नो जुत्ता खोलेर कीर्तिपुर मैदानको माटो चुम्नुभयो। उहाँले नेपाली भावना बुझेका छन् उनले भने। यही सम्बन्धले मोन्टी र नेपाली क्रिकेटको सम्बन्धलाई विशेष बनाएको छ।
नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गरिरहेका सबै टिमहरू आफूलाई बलियो बनाउने प्रयासमा छन्। विदेशी खेलाडीको आगमन,बजेटको बढ्दो मात्रा, र रणनीतिक खेल सञ्चालनका कारण एनपीएल अब केवल खेलमात्र नभएर प्राज्ञानिक चुनौतीको थलो बन्न थालेको छ।
यस्तो अवस्थामा गोर्खाजले मोन्टीलाई प्रशिक्षकमा ल्याउनु एक ठुलो कदम हो, जसले अन्य टिमलाई पनि कडा प्रतिस्पर्धाको चुनौती दिएको छ।
मोन्टी देसाईको पुनरागमन सँगै नेपाली क्रिकेट प्रेमीहरू उत्साहित छन्। क्रिकेटप्रेमीहरु सामाजिक सञ्जालमा लेखिरहेका छन् “गोल्डेन पिरियड फर्कँदैछ,”अब फेरि आशा पलायो।
काठमाण्डु गोर्खाज र मोन्टी देसाईबीचको यो सहकार्यले एनपीएलमा मात्रै होइन, सम्पूर्ण नेपाली क्रिकेटलाई सकारात्मक सन्देश दिएको छ। यो केवल एक प्रशिक्षकको नियुक्ति होइन नेपाली क्रिकेटप्रतिको आशाको पुनर्जागरण हो।
मोन्टी देसाईको पुनरागमन नेपाली क्रिकेटमा भावनात्मक र व्यावसायिक दुवै हिसाबले ठूलो महत्व राख्दछ। उनले नेतृत्व गरेको समयमा देखिएको नेपाली क्रिकेटको समर्पण, संघर्ष र सफलता अब फ्रेन्चाइज क्रिकेटमा देखिने आशा गरिएको छ। काठमाडौं गोर्खाजको यो निर्णयले एनपीएल २०८२ लाई थप रोमाञ्चक बनाएको छ जसको केन्द्रबिन्दुमा मोन्टी देसाई रहेको छन् ।
यस नियुक्तिलाई धेरैले दीर्घकालीन सोचका साथ गरिएको निर्णय भनेका छन् जसले भविष्यमा नेपाली क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा तयार पार्न मद्दत गर्नेछ। मोन्टीकै प्रशिक्षकत्वमा उदीयमान खेलाडीहरूलाई थप निखार्न सकिने विश्वास गरिएको छ।
एनपीएलको आगामी सिजन केवल उपाधिको दौड मात्र होइन, मोन्टी देसाई नेतृत्वमा नेपाली क्रिकेट संस्कृतिको उत्सव पनि बन्नेछ। यही कारण उनको पुनरागमनलाई एक ‘क्रिकेटिक महोत्सवको सुरुवात’ मान्न सकिन्छ।