असार २५, २०८२ काठमाडौं दैनिक संवाददाता
नेपाली महिला फुटबलको अग्रणी अनुहार सावित्रा भण्डारी ‘साम्बा’को नाममा लमजुङमा नामकरण गरिएको ‘साम्बा चोक’ अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदीपुल वारि क्षेत्रमा निर्माण गरिएको यो चोक खेलकुद, सम्मान र पर्यटनको संगम बन्दै गएको छ।
मर्स्याङ्दी गाउँपालिकाले सावित्रा भण्डारीको योगदानको कदरस्वरूप उनको ठूलो फोटोसहितको होर्डिङ बोर्ड र स्तम्भ निर्माण गरी सार्वजनिक स्थलमा स्थापनासँगै ‘साम्बा चोक’ घोषणा गरेको हो। यही जेठ ५ गते नामकरण गरिएपछि चोकमा आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको स्थानीयको भनाइ छ।
सावित्रा भण्डारी नेपाली महिला फुटबलको उदीयमान तारा, प्रेरणाका स्रोत पनि हुन्। २०५३ साल जेठ १५ गते लमजुङको पामचोक गाउँमा जन्मिएकी सावित्राले सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेकी थिइन्। उनी नेपाली महिला टिमकी सर्वाधिक गोलकर्ता हुन् भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालकै तर्फबाट सबैभन्दा बढी गोल गर्ने कीर्तिमान राखेकी छन्।
सावित्राको सम्मानमा बनाइएको चोक स्थानीयका लागि गर्वको विषय बनेको छ। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार साम्बा चोकले सावित्राको नाममार्फत लमजुङलाई मात्र होइ सम्पूर्ण नेपाललाई अन्तर्राष्ट्रिय फुटबलसहित पर्यटन नक्शामा चिनाउन मद्दत पुर्याएको छ।
स्थानीय बासिन्दा प्रदीप गुरुङ भन्छन् साम्बा चोक घुम्न आउने अधिकांश पर्यटक सावित्राको तस्बिरसँग सेल्फी खिच्छन्, टिकटक बनाउँछन्, भिडियोहरू बनाउँछन् र त्यसलाई सामाजिक सञ्जालमा शेयर गर्छन्। यस्तै डुम्रे, बेसीसहर,चामे सडकखण्डमा पर्ने उक्त चोकमा बिदाका दिनमा त दैनिक एक हजारभन्दा बढी आगन्तुक पुग्ने गरेको देखिन्छ।
मनाङ, कास्की, गोरखा, तनहुँदेखि काठमाडौंसम्मका यात्रुहरू चोक हेर्न विशेष रूपमा गाडी रोकेर उभिने गरेका छन्। पर्यटक शङ्कर घिमिरेले भने महिला फुटबलकी स्टारको सम्मानस्वरूप यस्तो चोक निर्माण गरिएको देख्दा अत्यन्तै गौरव लाग्यो।
साम्बा चोक निर्माणसँगै आसपासका होटल, चिया पसल, किराना, गाइड व्यवसायमा समेत वृद्धि भएको व्यवसायी बताउँछन्। होटल व्यवसायी पूर्ण गुरुङको भनाइमा पर्यटक आउँदा स्थानीय अर्थतन्त्र चलायमान हुन्छ। यसले हाम्रो गाउँले बजारमा उत्साह ल्याएको छ।
चोकको विकाससँगै पर्यटकीय पूर्वाधार विस्तार गर्ने योजना गाउँपालिकाले अघि सारेको छ। यसका लागि थप होर्डिङ बोर्ड, बत्ती, विश्रामस्थल, बाटो चौडा गर्ने योजना पनि बनाइँदैछ।
गाउँपालिकाका सूचना अधिकारी सुरेश गौतमका अनुसार, साम्बा चोकको स्तम्भ र होर्डिङ बोर्ड निर्माणमा करिब १ लाख ८५ हजार रुपैयाँ खर्च भएको थियो। लमजुङको सदरमुकाम बेँसीसहरबाट करीब ८ किलोमिटर दूरीमा रहेको साम्बा चोकमा सवारीमार्फत ३० मिनेटमै पुग्न सकिन्छ।
चोकको प्रचारप्रसार अझै प्रभावकारी रूपमा हुन सकेमा यसको प्रभाव र आगन्तुक संख्या दोब्बर हुने विश्वास गरिएको छ।
सावित्राको खेल यात्रा लमजुङकै स्थानीय क्लब ‘मनास्लु युवा क्लब’बाट सुरु भएको थियो। उनी पहिलो पटक दक्षिण एसियाकै प्रसिद्ध घलेगाउँमा आयोजना गरिएको एक महिला फुटबल प्रतियोगितामा सहभागी भएकी थिइन् जहाँ उनकी टोली प्रथम बनिन्।
उनी दशरथ रंगशालादेखि इजरायल हुँदै युरोपेली क्लबसम्म पुगेकी छन्। फ्रान्सको क्लब ‘ग्वेनगाम्प’सँग डेढ वर्षको अनुबन्ध गरेकी सावित्रा युरोपेली लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी बन्न सफल भएकी हुन्।
सावित्राको गोल मनाउने शैली, हेयरस्टाइल र जिज्ञाशा जगाउने जाँगरका कारण उनी ‘साम्बा’ उपनामले परिचित बनिन्। यो उपनाम उनको व्यक्तिगत शैली र आत्मविश्वासको प्रतीक बनेको छ।
‘साम्बा’ शब्द ब्राजिलियन फुटबलसँग पनि जोडिने भएकाले यसले अझै आकर्षण बढाएको छ। चोकको नाम ‘सावित्रा चोक’ नभई ‘साम्बा चोक’ राख्नुको पछाडि पनि यही विश्वव्यापी प्रभाव र जनप्रियता रहेको स्थानीय बताउँछन्।
मर्स्याङ्दी गाउँपालिका, लमजुङ जिल्ला प्रशासन, पर्यटन विभाग र स्थानीय पर्यटन व्यवसायीको सहकार्यमा चोकलाई लामो अवधिको पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने योजना छ। अहिले नै यहाँ नियमित रूपमा आन्तरिक पर्यटकको आगमन भइरहेको छ, तर आगामी दिनमा होटल, होमस्टे, गाइड सेवा, सवारी पार्किङ, सूचना बोर्ड र डिजिटल कार्ड सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।
सावित्रा भण्डारीको नामले अब लमजुङ मात्रै होइन, राष्ट्रिय पर्यटनको पनि एउटा नयाँ अध्याय कोर्ने संकेत देखिएको छ।
सावित्रा भण्डारीको प्रेरणादायी खेल यात्रा र त्यसप्रतिको सम्मानस्वरूप बनाइएको साम्बा चोकले महिला फुटबल, स्थानीय र पर्यटन प्रवर्द्धनलाई एकै ठाउँमा जोड्ने काम गरेको छ। स्थानीयको चाहना छ, साम्बा चोकलाई देशकै प्रेरणादायी गन्तव्य बनाइयोस्।