“प्रिती राई” विदेशी लिग खेल्दै जोर्डनको इतिहाद क्लबसँग अनुबन्ध भएकी छिन् ।
काठमाडौं, श्रावण २ – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्ड स्टार प्रिती राईले विदेशी लिगमा खेल्ने अवसर पाएकी छन्। जोर्डनको शीर्ष क्लब इतिहादसँग अनुबन्ध भएपछि उनी पनि विदेशमा व्यवसायिक फुटबल खेल्ने नेपाली खेलाडीको सूचीमा समावेश भएकी हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले प्रितीले जोर्डन वुमन्स प्रो लिग च्याम्पियन इतिहाद क्लबसँग आधिकारिक अनुबन्ध गरिसकेको जानकारी दिएका छन्।
इतिहाद क्लबले आगामी अगस्टमा सुरु हुने एएफसी महिला च्याम्पियन्स लिग २०२५ को प्रारम्भिक छनोट चरणमा समेत सहभागी हुने तयारी गरिरहेको छ। समूह ‘सी’ मा रहेको इतिहादले मलेसियाको केलना युनाइटेड, सिंगापुरको लायन सिटी सेलर्स र किर्गिस्तानको एफसी एसियागोल विरुद्ध प्रतिस्पर्धा गर्नेछ।
त्यसैबीच प्रितीले नेपाली क्लब एपीएफबाट पनि निरन्तर क्लब फुटबल खेल्दै आएकी छन्। एपीएफ पनि एएफसी महिला च्याम्पियन्स लिगको छनोट चरणमा सहभागिता जनाउँदैछ। समूह ‘बी’ मा परेको एपीएफले थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स, उज्वेकिस्तानको नसाफ र साउदी अरेबियाको अल नासरसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
प्रिती राईले विदेशी क्लबमा अनुबन्ध भएपछि नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय यात्रा थप मजबुत भएको छ। अघिल्ला वर्षहरूमा साबित्रा भण्डारी “साम्बा” अन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल लगायतका नेपाली महिला खेलाडीहरूले विदेशमा क्लब फुटबल खेल्ने अवसर पाएका थिए तर पछिल्ला दिनमा यो क्रम तीव्र हुँदै गएको देखिन्छ।
जोर्डनको इतिहाद क्लब सन् २०२३ र २०२४ मा जोर्डन महिला लिगको च्याम्पियन बन्न सफल क्लब हो। यसरी प्रतिस्पर्धात्मक क्लबसँग अनुबन्ध हुनु प्रितीको व्यक्तिगत करियरका लागि मात्र होइन नेपाली महिला फुटबलको गौरवका लागि पनि महत्वपूर्ण उपलब्धि हो।