काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कामचलाउ घोषित गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अर्को सुनुवाइ भदौ १७ गते गर्ने भएको छ। न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले आवश्यक तीन वटा फाइल संसद् सचिवालय, निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीसँग माग गर्दै मिति तोकेको हो।
इजलासले संसद् सचिवालयलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको र पुनः समर्थन गरेको पत्र, मन्त्री अरुणकुमार चौधरीको राजीनामा पत्र तथा नाउपाको वैधानिकता सम्बन्धी विवरण पठाउन आदेश गरेको छ।
यसअघि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले चार प्रश्न उठाउँदै सरकार र विपक्षसँग लिखित जवाफ मागेको थियो। महान्यायाधीवक्ता रमेश बडालसँग संसद् सचिवालयबाट आधिकारिक पत्रबारे जिज्ञासा राखिएको र सोही आधारमा अदालतले आवश्यक कागजात झिकाउने आदेश गरेको हो।
यो मुद्दामा राजनीतिक र संवैधानिक तर्कसँगै दलहरूको समर्थन–विरोधको स्थिति पनि निर्णायक बन्ने देखिएको छ।
काठमाडौं – उपसभामुख इन्दिरा राना मगरसँग सम्बन्धित पीए नेपाल नामक गैरसरकारी संस्थाबाट बालबालिका हराएको संवेदनशील घटनामा प्रहरीले गम्भीर चासो देखाउँदै अनुसन्धान सुरु गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसबारे प्रारम्भिक अध्ययन अघि बढाएको पुष्टि गरेको छ।
उक्त संस्थाले बाल संगठनमार्फत जिम्मा लिएका ५ जना बालबालिकालाई अवैधरूपमा ओसारपसार गरिएको भन्ने गम्भीर आरोप सार्वजनिक भएपछि प्रहरी सक्रिय भएको हो। तत्कालीन समयमा संस्थाकी कार्यकारी प्रमुख इन्दिरा राना मगर रहेको पाइएको छ।
सीआईबी प्रमुख एआईजी चन्द्र कुँवर खापुङका अनुसार बालबालिका गायब वा अवैध बिक्रीबारे समाचार सार्वजनिक भएपछि प्रहरीले विषयलाई अत्यन्त संवेदनशील ठहर गर्दै अनुसन्धान सुरु गरेको हो। उनले भने, बालबालिका गायब वा मानव तस्करी सरहको घटना हो, दोषीलाई कानुनी दायरामा ल्याइन्छ।
प्रहरी प्रवक्ता विनोद घिमिरेले पनि यसबारे सत्य तथ्य बुझ्न अनुसन्धान भइरहेको बताए। उनले भने, घटना संगठित मानव तस्करीसँग जोडिएको हुनसक्ने आशंका छ।
२०७२ सालमै बाल संगठनका अधिकारीमाथि अवैध रूपमा बच्चा दिएको आरोप लागेको र त्यसपछि २०७७ सालमा तत्कालीन सरकारले पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको तथ्य पनि बाहिर आएको छ। त्यस क्रममा बेलायती नागरिकलाई बच्चा अवैधरूपमा दिने कार्यसमेत भएको बताइन्छ।
हाल सीआईबीले हराएका बालबालिका कहाँ पुगे भन्नेबारे सूक्ष्म अध्ययन गरिरहेको छ। प्रारम्भिक जानकारी संकलन भइसकेपछि आवश्यक प्रमाण भेटिएमा संलग्न जोकोहीलाई कानूनी कारबाही गर्ने तयारी प्रहरीले जनाएको छ।