Headlines

पोखरा निन्जाजको मार्की प्लेयर प्रगति नाथ, प्रशिक्षकमा रुपेश विष्ट नियुक्त

पोखरा निन्जाजको मार्की प्लेयर प्रगति नाथ, प्रशिक्षकमा रुपेश विष्ट नियुक्त गरेको छ ।

काठमाडौं, साउन २ – नेपाली महिला भलिबलको उत्कृष्ट खेलाडीमध्ये एक प्रगति नाथले आगामी ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’ खेल्न पोखरा निन्जाज टिमसँग सम्झौता गरेकी छिन्।

गत सिजन गण्डकी थण्डर्सबाट खेलेकी प्रगतिलाई यसपटक पोखरा निन्जाजले मार्की प्लेयरको रुपमा अनुबन्ध गरेको हो।

प्रगति नाथले पोखरा निन्जाज टिममा सामेल हुन पाउँदा गौरव र उत्साह व्यक्त गरेकी छिन्। उनले भनिन्, “नयाँ टोलीसँग खेल्ने मौका पाउनु मेरो लागि प्रेरणादायक छ। शारीरिक र मानसिक रूपमा म पूर्ण तयार छु र टिमलाई जितसम्म पुर्‍याउने आत्मविश्वास छ।

पोखरा निन्जाजका निर्देशक विकास खेतानले भने, प्रगतिको आगमनले हाम्रो टिम अझै बलियो भएको छ। उनको अनुभव र क्षमताले लिगमा उत्कृष्ट प्रदर्शन गर्न सघाउनेछ।

यसपटकको लिगको अर्को आकर्षक पक्ष भनेको रुपेश विष्टको मुख्य प्रशिक्षकको रुपमा नियुक्ति हो। उनीसँग लामो अनुभव भएकोले खेलाडीहरूलाई रणनीतिक र मनोबलका हिसाबले मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रगति नाथ नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सदस्य हुन्। गण्डकी थण्डर्सबाट खेलेको अघिल्लो लिगमा उनी प्रभावशाली खेलाडीका रूपमा चिनिइन्।पोखरा निन्जाज यसपटक लिग जित्ने लक्ष्यसहित तयारीमा जुटेको छ।

वात्सल्य ग्रुपद्वारा आयोजित दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुने तय भएको छ। प्रतियोगिता इन्फिनिटी ड्रिम्सले आयोजना गर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *