नेपाललाई सिंगापुरले दियो ११४ रनको चुनौती दिएको छ
असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता
क्वालालम्पुर, मलेसिया — एसीसी यू–१६ इस्टजोन कपको उपाधि भिडन्तमा नेपालले सिंगापुरविरुद्ध ११४ रनको लक्ष्य पाएको छ। मलेसियामा जारी यस प्रतियोगिताको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरको टोली ४०.५ ओभरमै ११३ रनमा समेटियो।
सिंगापुरका ओपनर रोहन अस्टीन अरुणले २३ रन बनाएर सबैभन्दा बढी योगदान दिएका थिए। उनले ८४ बल खेलेर २ चौका प्रहार गरे। कप्तान रिहान नाइकले १५, वेदान्श गुप्ताले १२ र आकाश तेजाले १० रन जोडे। तर अन्य ब्याटरहरु दोहोरो अंकमा रन बनाउन असफल रहे।
नेपालको बलिङ आक्रमण प्रभावशाली:
नेपालका तर्फबाट अभय यादव र शुशिलबहादुर रावलले समान ३/३ विकेट लिएर सिंगापुरलाई समेट्न महत्त्वपूर्ण भूमिका खेले। त्यस्तै शुभम खनालले २ विकेट लिए भने कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए।
नेपालले यसअघि बिहीबार भएको सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो। उता सिंगापुरले हङकङलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको हो। समूह चरणमै नेपालसँग पराजित भएको सिंगापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो।
नेपाल प्रतियोगिताभरि अपराजित रहँदै फाइनलसम्म आइपुगेको हो। अघिल्लो संस्करणको विजेता समेत रहेको नेपाललाई यसपटक पुन इतिहास कायम राख्ने उपाधि रक्षा गर्ने सुनौलो अवसर मिलेको छ।
नेपालले ११४ रनको लक्ष्य पछ्याउँदै दोस्रो इनिङ खेल्नेछ। जित हासिल गर्न सहज लक्ष्य देखिए पनि फाइनल खेलको दबाब र पिचको अवस्था मिलाएर रणनीति बनाउनुपर्नेछ।
यस प्रतियोगितामा नेपालले युवाहरूको उत्कृष्ट प्रदर्शनमार्फत आफ्नो दबदबा जमाएको छ। बलिङ र ब्याटिङ दुवै विभागमा टोली सन्तुलित देखिएको छ। आजको फाइनल खेल नेपालका आगामी यु–१९ तथा राष्ट्रिय स्तरको तयारीका लागि मापनको घडी पनि हो।
नेपालको यो विजय यात्रा खेलकुद संस्कृतिको पनि उत्सव जहाँ युवाहरूको पसीना, सपना र देशभक्ति मिसिएको छ ।