धरान उपमहानगरमा मेयर-उपमेयर विवादले बजेट प्रक्रिया प्रभावित
धरान, असार १०, २०८२
धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीचको लामो समयदेखि चलिरहेको मतभेदले अन्तत नगरसभा र आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रभावित पारेको छ । कार्यपालिका बैठक निर्धारित समयमा सुरु नहुँदा नगरसभा कहिले हुने भन्ने विषय अन्योलमा परेको छ ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट स्थानीय सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ । तर धरानमा आइतबार बोलाइएको कार्यपालिका बैठक विवादका कारण सुरु नै नभई स्थगित गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत समेत अनुपस्थित रहेको उक्त बैठकमा उपमेयर बेघासहित २८ जना कार्यपालिका सदस्यहरुले लिखितरूपमा कानुनी प्रक्रिया पालना नभएको र पर्याप्त तयारी बिना नै बैठक बोलाइएको भन्दै असहमति जनाएपछि मेयर साम्पाङले बैठक स्थगित गर्न बाध्य भएका थिए ।
स्रोत अनुमान बजेट सिलिङबिना कार्यक्रम तर्जुमा ?
उपमेयर बेघाले जानकारी गराए अनुसार, ऐनको दफा ६६(६)(१) अनुसार प्रत्येक आर्थिक वर्षको वैशाख १० गतेभित्र स्रोत अनुमान तथा बजेट सिमा (सिलिङ) निर्धारण भइसकेको हुनुपर्दछ । वैशाख १५ भित्र सबै शाखा, महाशाखा र वडाहरुलाई सो जानकारी पुर्याउनु पर्ने प्रावधान छ ।
तर धरानमा अझै बजेट सिलिङको प्रक्रिया पूरा नभएको न त सम्वन्धित समितिको बैठक बसेको, न त नीति तथा कार्यक्रम तर्जुमा भएको अवस्था छ । यस्तो अपूर्ण तयारीका साथ कार्यपालिका बैठक बोलाइनु आफैंमा कानुनी उल्लंघन भएको उपमेयर पक्षको दाबी छ ।
मेयर साम्पाङले कार्यपालिका बैठकमा पहिलो एजेन्डाका रूपमा नीति तथा कार्यक्रम राखेका थिए । तर उपमेयर बेघाका अनुसार वैशाख ३१ गते नै राजस्व परामर्श समितिले १ अर्ब ६० करोड १५ लाख ४८ हजार बराबरको बजेटको प्रतिवेदन बुझाएको थियो । यो विषयमा छलफल नै नगरी सीधै कार्यपालिका बैठकको सूचना जारी गरिनु अस्वाभाविक र विधिविपरीत भएको उनी बताउँछन् ।
‘स्रोत अनुमान तथा सिमा निर्धारण समितिको संयोजक स्वयं मेयर हुनुहुन्छ, उपमेयर बेघाले भने तर उहाँकै नेतृत्वमा बैठक नबसी कार्यपालिका बैठकको सूचना आयो । यो स्पष्ट रूपमा कानुनको अपमान हो ।
धरान उपमहानगरपालिकामा बजेट निर्माण प्रक्रिया मात्र होइन समग्र कार्यसम्पादन नै प्रभावित भएको देखिन्छ । कार्यपालिका भित्रै समन्वय र संवादको अभाव, शक्ति संघर्ष, र आन्तरिक असहमतिले स्थानीय सरकारको सेवा प्रवाह र योजना कार्यान्वयनमा समेत असर पारिरहेको छ ।
यसअघि पनि बजेट सिलिङ तथा सिमा निर्धारण समितिको बैठकमा विवाद भएको थियो । सो बेला मेयर साम्पाङका समर्थकहरु उपमहानगरमा पुगेपछि तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।
स्थानीय सरकारको आधिकारिक र कानुनी माध्यम भनेकै नगरसभा हो । नीति, कार्यक्रम र बजेट नगरसभाबाट पारित नगरी कार्यान्वयन गर्न मिल्दैन । तर, धरानमा नगरसभा कहिले हुन्छ भन्ने नै अन्योलमा परेको छ ।
आइतबारको कार्यपालिका बैठक सफल भएको भए असार १० गते नगरसभा आहृवान हुने र सो दिन नीति तथा कार्यक्रम पेस गरेर स्थगित गर्ने र बजेटमा सहमति जुटेपछि फेरि सभा डाक्ने रणनीति मेयर साम्पाङले बनाएका थिए । तर उपमेयरसहितको असहमतिको कारण योजना असफल भएको हो ।
गत वर्ष पनि धरानमा अन्तिम समयमा सहमति जुटाएर नगरसभा सम्पन्न गरिएको थियो । तर यस वर्ष विवाद झन् चर्किएको छ ।
यदि असार १० भित्र नीति, कार्यक्रम र बजेट पारित नभएमा स्थानीय तहको समग्र प्रशासनिक गतिविधिमा बाधा पुग्न सक्छ । योजना छनोट, टेन्डर प्रक्रिया, पूर्वाधार निर्माण, सामाजिक सुरक्षा भुक्तानी, कर्मचारी तलबभत्ता लगायतका दैनिक काम प्रभावित हुनेछन् ।
साथै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने समन्वय तथा अनुदान रकम समयमै खर्च गर्न सक्ने अवस्था पनि गुम्नेछ ।
धरान उपमहानगरको वर्तमान संकट समाधानका लागि सबै सरोकारवालाले संवाद, कानुनी प्रक्रिया, र पारदर्शितालाई प्राथमिकता दिनुपर्छ । शक्ति प्रदर्शन र आरोप-प्रत्यारोपको राजनीति अन्त्य गरी समन्वयमा आधारित नेतृत्व आवश्यक छ।
मेयरको नेतृत्वमा कार्यपालिका बैठक बस्ने र प्रक्रिया पूरा गरेर बजेट पारित गरिने वातावरण बनाउनुपर्ने उपमेयर पक्षको माग जायज देखिन्छ । साथै, कार्यपालिका सदस्यहरुसँग निरन्तर संवाद गरी साझा सहमति खोज्नु पनि नेतृत्वकर्ताको दायित्व हो ।
धरान उपमहानगरको यो संकट केवल एउटै शहरको समस्या होइन । यो स्थानीय तहको शासन प्रणालीमा देखिएको समन्वयहीनताको प्रतिनिधि उदाहरण हो ।
यदि यस्तै प्रवृत्ति अन्य स्थानीय तहहरूमा पनि दोहोरियो भने नेपालको संघीय शासन प्रणाली नै जनताको नजरमा असफल सावित हुने खतरा रहन्छ ।
स्थानीय तहका सबै प्रतिनिधिहरुले आ-आफ्नो भूमिकाको गम्भीरता बुझ्न आवश्यक छ । अन्यथा न नीति आउनेछ, न बजेट पारित हुनेछ, न सेवा प्रवाह हुनेछ अन्ततः जनताले स्थानीय सरकारप्रति विश्वासको प्रश्न चिन्ह खडा गर्नेछन् ।