Headlines

दमाममा दुई दिने घुम्ती शिविर: १०७९ राहदानी नविकरण, १०८६ बितरण, ५० जनाको वहिर्गमन फारम संकलन सम्पन्न

असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता

दमाम, साउदी अरेबिया – साउदी अरेबियाको पूर्वीय प्रान्तमा अवस्थित दमाम शहरमा नेपाली राजदूतावास रियादको पहलमा दुई दिने घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमार्फत १०७९ जना नेपालीको राहदानी नविकरणको लागि फारम संकलन, १०८६ जनालाई नवीकृत राहदानीको वितरण, तथा ५० जनाको वहिर्गमन भिसाका लागि फारम संकलन गरिएको छ।

२०७९ असार २० र २१ गते (२०२५ जुलाई ४ र ५) का दिन अल फैसलिया स्थित अल असेम रेस्टहाउस फर फेस्टिवलमा सम्पन्न यो शिविर नेपाली श्रमिकका लागि निकै प्रभावकारी र उपयोगी सावित भएको छ। नेपाली राजदूतावास रियादबाट प्रथम सचिव श्री टोप नारायण गिरीज्यूको नेतृत्वमा पुगेको टोलीले राहदानी सेवा, वितरण तथा श्रमिक सचेतना सम्बन्धी महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको थियो।

दूतावास टोलीको समर्पण:

राजदूत डा. नरेश विक्रम ढकालको मार्गदर्शनमा प्रथम सचिव श्री टोप नारायण गिरि, श्रम सहचारी श्री टीकाराम शर्मा, द्वितीय सचिव श्री अजय डङ्गाल, श्रम सहचारी श्री ध्रुव तिमिल्सिना, नायब सचिव श्री हेमन्त आचार्य लगायतको टोलीले साप्ताहिक बिदाको दिनसमेत सेवाग्राहीहरूको सहजतालाई ध्यानमा राखेर सेवा प्रदान गरे।

संस्थागत समन्वय र स्वयंसेवकको योगदान:

शिविरको सफलतामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद साउदीका अध्यक्ष श्रीमती रबिना अर्याल, समाजसेवी वरिष्ठ उपाध्यक्ष उमेश भट्टराई, महासचिव शुक्र मोक्तान, प्रमुख सल्लाहकार तेज थापा, प्रमुख संरक्षक ओम घले, राजु सैयद, एनआरएन, आदिवासी जनजाति महासंघ, पानस, हेल्प मधेसी, साझा मञ्च, मगर संघ, लिम्बुवान मञ्च लगायत दर्जनौं संस्थाका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए।

विशेषत एनआरएनए एनसीसीका संयोजक बलराम थापाको नेतृत्वमा शिविर अवधिभर पिउने पानीको व्यवस्था गरिएको थियो। फुटबल क्लबहरू युनाइटेड एफसी, भेट्रान एफसी, लिम्बुवान एफसीका पदाधिकारीहरू समेत शिविरमा सहयोगी बने।

समाजसेवीहरूको उपस्थिति र सहजीकरण:

समाजसेवी श्री रामचन्द्र वाग्ले (जनप्रगतिशील मञ्च), श्री भक्त कार्की, श्री कुबेर हुमागाईं (पानस), श्री श्याम महतो (हेल्प मधेसी), श्री चित्र चाम्लिङ राई (किरात राई यायोख्खा), श्री बम थापा मगर (मगर संघ), श्री डीबी बलामी मगर (साझा मञ्च), श्री खेम गुरुङ (आदिवासी जनजाति महासंघ), श्री प्रसाद यावा लिम्बु (संघीय लोकतान्त्रिक मञ्च), श्री यम बम्जन लामा (प्रवासी नेपाली मंच) समाजसेवी अनुजा बुढाथोकी लगायतले शिविरलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

शिविरको समापनमा सेवाग्राहीहरूप्रति हार्दिक आभार प्रकट गर्दै आयोजक पक्षले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। सामाजिक संस्थाहरूले संयुक्त रूपमा जारी राखेको सहकार्य र समर्पणले नेपाली श्रमिकहरूलाई थप सहजता र आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

यस घुम्ती सेवा शिविरले दमाम र आसपास क्षेत्रका हजारौं नेपाली श्रमिकहरूको समस्या समाधान गर्दै दूतावास, एनआरएनए, सामाजिक संस्था र स्वयंसेवकबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *